उल्टो जन्मिएका नवजात शिशुलाई बचाइयो


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमा उल्टो (ब्रीच) अवस्थामा जन्मिएका र निसास्सिएर ज्यान जोखिममा परेका एक नवजात शिशुको सफल प्रसूति तथा उपचार गरिएको छ ।
मालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सात घण्टाको सुत्केरी बेथापछि अस्पतालमा आएकी थिइन् । आमाको कम उमेर र शिशु गर्भमा उल्टो हुँदा आमा र शिशु दुवैको जीवन जोखिममा थियो ।
शिशु जन्मँदा टाउको अड्किएको र निसास्सिएर शरीर नीलो भएको थियो । सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक यमन नेपालीका अनुसार, शिशुको मुटुको धड्कन १०० भन्दा कम र श्वासप्रश्वास न्यून थियो ।
अस्पतालमा सीमित स्रोतसाधन भए पनि जनस्वास्थ्य निरीक्षक नेपाली र सिनियर अनमी दीपा परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाको अनलाइन परामर्श तथा निर्देशनमा प्रसूति गराएका थिए ।
करिब दुई घण्टाको निरन्तर प्रयास र ’ब्याग एण्ड मास्क’ को सहायताले शिशुलाई सामान्य अवस्थामा फर्काइएको थियो ।
स्वास्थ्यकर्मीका अनुसार ग्रामीण क्षेत्रको अस्पतालमा यस्तो जटिल अवस्थाको प्रसूति सफल हुनु ठूलो उपलब्धि हो । हाल आमा र २.५ किलोग्राम तौलको शिशु दुवैको अवस्था सामान्य छ। थप निगरानीका लागि उनीहरूलाई पोखरा पठाइएको छ ।
Facebook Comments