देशभर रोकिएका सवारीसाधनलाई सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन


काठमाडौं । गृह मन्त्रालयले भारी वर्षा र बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै देशभरका राजमार्गमा रोकिएका सवारीसाधन लाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्याउन सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालय (जिप्रका) लाई निर्देशन दिएको छ ।
सबै प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै मन्त्रालयले विपद् व्यवस्थापन र यात्रुलाई राहत प्रदान गर्न विभिन्न निर्देशन दिएको हो । आवश्यकताअनुसार अलपत्र परेका यात्रुहरूका लागि स्थानीय तह र गैरसरकारी सङ्घसंस्थाको समन्वयमा खानपानको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
राजमार्गमा रोकिएका एम्बुलेन्सलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन र बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’ सम्म पुर्याउन सहजीकरण गर्न निर्देशन दिइएको छ ।
बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय वा खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई गृहले निर्देशन दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आजदेखि असोज २० गते सोमबारसम्म लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने\बाहिरिने सवारीसाधनको आवतजावत बन्द गर्ने र त्यसको अनुगमन तथा निगरानी गर्न निर्देशन दिएको छ ।
उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँग समन्वय गरी आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
प्रतिकूल मौसम र जोखिमलाई मध्यनजर गर्दै बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ ।
मन्त्रालयका उपसचिव निशानराज गौतमका अनुसार तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्नसमेत निर्देशित गरिएको छ ।
Facebook Comments