कार्यकर्तालाई विपद् व्यवस्थापनमा जुट्न प्रचण्डको निर्देशन


काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद् व्यवस्थापन मा पार्टीका सबै तहलाई एकजुट भएर खटिन निर्देशन दिएका छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गर्दै प्रचण्डले पार्टीका नेता–कार्यकर्ता, विपद् व्यवस्थापन विभाग, स्वयंसेवक समूह र योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) लाई खोज, उद्धार र राहतका काममा तत्काल जुट्न आह्वान गरेका हुन् ।
उनले असोज १७ गतेदेखि सुरु भएको वर्षाले बागमती, मधेस र कोशी प्रदेशका पहाडी भेगमा पहिरो र तराईमा डुबान को समस्या तीव्र रूपमा बढाउने उल्लेख गरे । प्रचण्डले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न अनुरोध गरे ।
साथै, सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुको खान बस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय निकायलाई सहयोग गर्न आग्रह गर्दै अन्य राजनीतिक दल र नागरिक समाजलाई पनि मतभेद बिर्सेर एकताबद्ध भई उद्धारमा जुट्न विशेष अपिल गरेका छन् ।
Facebook Comments