सप्तकोशी नदीमा जलवहाव उच्च : ब्यारेजका ५० ढोका खोलिए

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e1f39851ae1.jpg

धरान । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलवहाव तीव्र रूपमा बढेपछि आज (आइतबार) बिहान कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, बिहान ८ः१५ बजे गरिएको मापनमा नदीको जलवहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि ढोका खोल्नुपरेको हो ।

शनिबार बेलुका ८ बजे जलवहाव १ लाख ९३ हजार ६० क्युसेक थियो, जुन आज बिहान ७ बजे बढेर २ लाख ७१ हजार ३१० क्युसेक पुगेपछि ३९ ढोका खोलिएको थियो। तर, थप पानीको वहाव बढेपछि ५० ढोका खोल्नुपर्यो ।

कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । हाल जलवहाव उच्च भएकाले कन्ट्रोल रुमले तीन रातो बत्ती बालेको जनाएको छ ।

गत भदौ १७ गते पनि नदीमा पानीको वहाव उच्च हुँदा ३८ ढोका खोलिएको थियो, तर त्यसपछि वहाव लगातार घटेको थियो । शुक्रबार र शनिबारको लगातारको वर्षाले फेरि जलवहाव बढाएको हो ।


Facebook Comments