धार्मिक झडपपछि बाँकेका पाँच क्षेत्रमा निषेधाज्ञा


काठमाडौं । बाँके जिल्ला प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपपछि जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासनले शनिबार साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि निम्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । डुडवा गाउँपालिका–६ को सम्पूर्ण क्षेत्र र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर–१४ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी छ ।
उपमहानगरको वडा नम्बर १५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा क्षेत्रमा निषेधाज्ञा लागू भएको छ । यस्तै नरैनापुर गाउँपालिकाको वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको प्रहरीले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अहिले जिल्लाको स्थिति सामान्य रहेको जानकारी दिए । उनका अनुसार शनिबार राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा र स्थानीय प्रतिनिधिसँग छलफल भएको थियो ।
छलफलमा घटनाका दोषीहरूलाई पहिचान गरी कानुनबमोजिम कारबाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने, र प्रशासनको स्वीकृतिबिना कुनै पनि किसिमका जुलुस, सभा, सम्मेलन वा र्याली आयोजना नगर्ने लगायतका महत्वपूर्ण सहमतिहरू भएका छन् ।
Facebook Comments