नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो, सावधानी अपनाउन आग्रह

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e342fa3e2f9.jpg

काठमाडौं । अविरल वर्षाका कारण पहिरोको जोखिममा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आज (सोमबार) बिहान ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहानसम्म सडकमा कुनै अवरोध नभएको जानकारी दिएको छ ।

यद्यपि, जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला पहिरो खस्न सक्ने भन्दै सवारी प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।

हिजो (आइतबार) बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरूलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहानदेखि गन्तव्यमा जान दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, यात्रुहरूलाई बेलुका ९ बजेभित्र चितवनको सिमाना पार गरिसक्न भनिएको छ ।

जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारीसाधनहरू अहिले गन्तव्यतर्फ लागिरहेका छन् ।


Facebook Comments