टिकोट र घराम्दीका किसान तरकारी खेतीबाट आत्मनिर्भर

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोट र घराम्दीका किसानहरू व्यावसायिक तरकारी र किवी खेतीबाट आत्मनिर्भर बनेका छन् । यहाँका किसानले वार्षिक रु. ३ करोडभन्दा बढी मूल्यको आलु र बन्दा बिक्री गर्दै आएका छन् ।
टिकोटका वुद्धीवीर पुन, जसले १६ वर्षअघि कतारमा रोजगारी गरेका थिए, हाल १५ रोपनीमा तरकारी र ५ रोपनीमा किवी खेतीबाट वार्षिक रु. ७ लाखसम्म आम्दानी गरिरहेका छन् । उनले कृषिमा परिश्रम गरे राम्रो कमाइ हुने अनुभव सुनाए ।
टिकोटको छिमेकी बस्ती घराम्दीका पूर्व वडा अध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि ५ रोपनी जग्गामा काँक्रो, सिमी, गोलभेडा, बन्दा र काउली खेतीमा सक्रिय छन् ।
समुन्द्री सतहदेखि २३ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा ५० जनाभन्दा बढी व्यावसायिक किसान सक्रिय छन् । यहाँको तरकारी जैविक विधिबाट उत्पादन हुने र रासायनिक मल प्रयोग नहुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ । किसानहरूले रोगकिरा नियन्त्रणका लागि गाईभैँसीको मलमुत्र प्रयोग गर्ने गरेका छन् ।
टिकोट र घराम्दीमा उत्पादित तरकारी र आलु मुख्यतया सदरमुकाम बेनी र पोखरामा बिक्री हुने गरेको छ । अन्नपूर्ण गाउँपालिकाले ’तरकारी पकेट कार्यक्रम’ मार्फत किसानहरूलाई आवश्यक बीउ, टनेल र सिँचाइ सामग्री उपलब्ध गराउँदै सहयोग गरिरहेको छ ।
Facebook Comments