हाेला त इजरायल-प्यालेस्टाइन वार्ता सफल ?
ट्रम्पले सम्झौताको सम्भावना 'साँच्चै राम्रो' भएको बताएपछि गाजा शान्ति योजना वार्ता जारी रहने


काठमाडौं । अमेरिकी शान्ति योजना अन्तरगत गाजामा युद्ध अन्त्य गर्न अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले अप्रत्यक्ष वार्ता मंगलबार पनि इजिप्टको शर्म अल-शेख शहरमा जारी रहने भएको छ।
प्यालेस्टिनी र इजिप्टियन अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले वार्तामा धेरै प्यालेस्टिनी कैदीहरूको बदलामा सबै इजरायली बन्धकहरूको रिहाइ हुने तयारी भएकाे उल्लेख गरेकाे छ। इजरायलका प्रधानमन्त्रीले शनिबार "आगामी दिनहरूमा" बन्धकहरूको रिहाइको घोषणा हुने आशा राखेका थिए। सोमबार इजरायत र हमास वार्ताका विषयमा अधिकारीहरू भेट्दै गर्दा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने: "हामीसँग सम्झौता गर्ने साँच्चै राम्रो मौका छ, र यो दिगो सम्झौता हुनेछ।"
हमासले शान्ति योजनाको प्रस्तावमा आंशिक रूपमा सहमत भएको बताएको छ, तर निशस्त्रीकरण र गाजाको शासनमा भविष्यमा कुनै भूमिका नहुने जस्ता धेरै प्रमुख मागहरूको जवाफ दिएको छैन। वार्ताको दोस्रो दिन , जसमा इजिप्टियन र कतारी अधिकारीहरूले इजरायल र हमास दुवैका प्रतिनिधिमण्डलहरूसँग छुट्टाछुट्टै शटल बैठकहरू गर्ने बताइएकाे थियो ।
७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा आक्रमण भएकाे आज दोस्रो वार्षिकोत्सवमा हाे । यसैले आजकाे वार्तालाई महत्वका साथ हेरिएकाे छ। दुई वर्षअघि आजकै दिन लगभग १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो। इजरायली सेनाले हमासकाे आक्रमणकाे प्रतिक्रियास्वरूप गाजामा प्रतिआक्रमणकाे अभियान सुरु गरेकाे थियो। त्यसबेलादेखि, गाजामा इजरायली सैन्य कारबाहीबाट ६७,१६० जनाको मृत्यु भइसकेको छ, जसमा १८,००० बालबालिका रहेकाे हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एक वरिष्ठ इजरायली सुरक्षा स्रोतका अनुसार वार्ता सुरुमा बन्धकहरूको रिहाइमा मात्र केन्द्रित हुनेछ र हमासलाई त्यो चरण पूरा गर्न केही दिन दिइनेछ। यी छलफलहरू युद्ध सुरु भएदेखि नै सबैभन्दा परिणाममुखी हुने अपेक्षा गरिएको छ र यसले द्वन्द्व अन्त्य गर्ने बाटो अन्ततः पहुँचयोग्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जारेड कुशनर र कतारी विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी सहभागी हुनेहरूमा छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई "छिटो अघि बढ्न" आग्रह गरेका छन् र शान्ति योजनाको पहिलो चरण - जसमा बन्धक रिहाइ गर्ने काम - "यस हप्ता पूरा हुनुपर्छ" भनेका छन्। वार्तामा नजिक रहेका एक प्यालेस्टाइनी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार पहिलो सत्र सोमबार साँझ समाप्त भएको छ र थप वार्ताहरू मंगलबार हुने तय भएको छ। राज्य-सम्बद्ध अल-काहेरा समाचारले पनि मंगलबार वार्ता जारी रहने बताएको छ - र पहिलो दिन "सकारात्मक वातावरणमा" वार्ता समाप्त भएको जनाएकाे छ।
ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूद्वारा सहमति भएको २०-बुँदे योजनामा लडाईंको तत्काल अन्त्य र ४८ बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरिएको छ, जसमध्ये २० जना मात्र जीवित रहेको मानिन्छ। योजनामा दुवै पक्षले प्रस्तावमा सहमति जनाएपछि "पूर्ण सहायता तुरुन्तै गाजा पट्टीमा पठाइनेछ" भन्ने उल्लेख छ। यसले गाजाको शासनमा हमासको कुनै भूमिका नहुने र अन्ततः प्यालेस्टिनी राज्यको लागि ढोका खुला राख्ने कुरा पनि उल्लेख गरेको छ।
Facebook Comments