हुम्लाको उच्च भेगमा हिमपात


सिमकोट । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ ।
सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताए ।
सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा आज बिहान हिमपात भएको लामाले टेलिफोनमार्फत जानकारी दिए । हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।
त्यसैगरी सिमकोट गाउँपालिकाका उच्च क्षेत्रहरु पञ्चमुखी, रलिङ, सैपाललगायत खार्पुनाथका उच्च हिमालमासमेत हिमपात भएको छ । जिल्लाका उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ ।
सदरमुकाम सिमकोटमा एक्कासी चिसो बढेको स्थानीय मुक्ति रावतले बताए । चिसोले विद्यालयमा विद्यार्थी उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।
Facebook Comments