भिडका कारण महानगरको दमकलले भनेकै समयमा सिंहदरबारको आगो निभाउन पाएन : मेयर बालेन

User Image मेयरसाप डटकम | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e51877ed5f7.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न हुँदा हुँदै पनि भिडका कारण समयमै सिंहदरबारको आगो निभाउन जान नपाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले महानगरको दमकलले आगो निभाइरहे पनि गलत प्रचार गरिएको उल्लेख गरेका छन् ।

उनले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले गर्दा काम गर्न नपाएको र दमकल रोकिएको समेत उल्लेख गरेका छन् ।  सिंहदरबारभित्रको सेनाको दमकलले समेत आगो निभाउन नसकेको प्रशंग उल्लेख गर्दै मेयर बालेनले महानगरको दमकलले निरन्तर सहज सहज ठाउँमा आगो निभाउने काम गरेको उल्लेख गरेका हुन् ।

‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘कारण थियो हुलले दमकललाई काम गर्न नदिएको ।’

बालेनका अनुसार, भिड शान्त हुनासाथ महानगरको दमकल सिंहदरबार पुगेको थियो । महानगरका पाँचवटै दमकलले आगो निभाउने निरन्तर काम गरेको पनि उनले उल्लेख गरेका छन् ।

बालेनले महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने मान्यता रहेको पनि बताएका छन् ।

‘दमकल ५/२३ गते दिउँसो १:३० देखि ५ बजेसम्म संसद् भवन अगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो,’ बालेनले लेखेका छन्, ‘न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो ।’

२४ गते बिहानै देखि कुनै पनि दमकल सञ्चालनमा आउन नसकेको र राति ८ देखि १ बजेसम्म काम गरिहरेको उनले दाबी गरेका छन् । उनले निजी सम्पत्ति र सरकारी सम्पत्ति जोगाउन दमकलदेखि उपचाररत घाइतेहरूलाई स्वास्थ्य सामाग्री र खाना खाजासमेतके व्यवस्थापनमा महानगरको टिम खटिएको उल्लेख गरेका छन् । उनले महानगरके टिमले लासहरूको व्यवस्थापन समेत गरेको बताएका छन् । मेयर बालेनले सरकारबिहीन अवस्थामा पनि महानगरको टिमले स्थानीय सरकारको नेतृत्व गरेको बताएका छन् ।

 


Facebook Comments