प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e517e4d1618.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको जनाइएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र आयोगका तफर्बाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए ।

यसअघि यही असोज ७ गते पनि प्रधानमन्त्री कार्कीसँग निर्वाचनका विषयमा आयोगका पदाधिकारीले छलफल गरेका थिए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रयासद भट्टराईले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोतसाधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

यसअघि आयोगको आग्रहमा तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधन भई मतदाता नामावली सङ्कलन भइरहेको छ ।


Facebook Comments