विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि प्रक्षेपणमा भारी कटौती

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e52091a38a7.jpg

काठमाडौं । विश्व बैंकले हालैको जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको राजनीतिक अनिश्चितताका कारण नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणमा व्यापक कटौती गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको ’साउथ एसिया डेभलपमेन्ट रिपोर्ट’ अनुसार, चालू आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने अनुमान छ । यो प्रक्षेपण गत अप्रिलमा गरिएको ५.२ प्रतिशतको तुलनामा ३.१ प्रतिशत बिन्दुले कम हो ।

बैंकका अनुसार जेनजी आन्दोलनपछि सिर्जित अशान्ति, बढ्दो राजनीतिक तथा आर्थिक अनिश्चितता र लगानीकर्ताको कमजोर आत्मविश्वास यसको मुख्य कारण हो ।

आन्दोलनका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट, सम्पत्ति नोक्सानीले बीमा उद्योगलाई असर, र जलविद्युत् बाहेकका निजी लगानी तथा निर्माण गतिविधिमा अवरोध आउने अनुमान छ ।

बैंकले जटिल व्यापार वातावरण, भ्रष्टाचार, उच्च व्यापार लागत, र अपर्याप्त पूर्वाधार जस्ता संरचनात्मक कमजोरीका कारण नेपालमा रोजगारी सिर्जना सीमित भएको उल्लेख गरेको छ ।

नेपालको युवा बेरोजगारी दर २२.७ प्रतिशत पुगेको र वैदेशिक रोजगारी जीविकोपार्जनको मुख्य रणनीति बनेको विश्व बैंकले जनाएको छ । पुनर्निर्माणका गतिविधि बढेपछि आगामी आर्थिक वर्ष २०८३\८४ मा वृद्धिदर ४.७ प्रतिशत पुग्ने विश्व बैंकको अपेक्षा छ ।


Facebook Comments