सुनको मूल्यमा नयाँ रेकर्ड, दशैंपछि मात्रै १५ हजारले बढ्यो


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै नेपाली बजारमा पनि मूल्य निरन्तर उकालो लागेको छ । बुधबार सुनको भाउ तोलामा रु २ हजार ६०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि छापावाल सुनको भाउ प्रतितोला रु २ लाख ३८ हजार तोकिएको छ । मंगलबार यसको मूल्य रु २ लाख ३५ हजार ४०० थियो ।
दशैंअघि असोज १२ गते रु २ लाख २३ हजार २०० मा कारोबार भएको सुनको मूल्य दशैंपछि मात्रै तोलामा करिब रु १५ हजारले बढिसकेको छ ।
विश्वभर सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार डलर नाघेको छ । यसको भाउ प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ ।
यसैबीच, चाँदीको मूल्य भने प्रतितोला रु ५ ले घटेको छ । मंगलबार रु २ हजार ९६० मा कारोबार भएको चाँदी आज रु २ हजार ९५५ मा कायम भएको छ ।
Facebook Comments