इन्स्पेक्टर चौलागाईंको प्रहरी टोलीद्वारा बाढी पीडितलाई खाना वितरण


वीरगञ्ज । लगातारको अविरल वर्षा र त्यसपछिको बाढीले वीरगञ्ज आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि इन्सपेक्टर निरोज चौलागाईंको नेतृत्वमा रहेको प्रहरी टोली विपद् पीडित परिवारलाई मानवीय सहयोग जुटाउन सक्रिय भएको छ ।
इन्सपेक्टर चौलागाईंको प्रहरी टोलीले सुरक्षा र उद्धारको नियमित ड्युटीसँगै बाढी प्रभावितहरूलाई खाना खुवाउने र अत्यावश्यक राहत वितरणको अभियान सुरु गरेको हो ।
बाढीका कारण विस्थापित भई खुला स्थान वा सुरक्षित आश्रयस्थलहरूमा बसिरहेका परिवारहरूलाई लक्षित गरी प्रहरी टोलीले खाना पकाउने र वितरण गर्ने कार्य गरिरहेको छ ।
इन्सपेक्टर चौलागाईंका अनुसार, बाढीले घर डुबानमा परेपछि धेरै परिवारहरू खानेकुरा र पानीको अभावमा परेका छन् । ‘यस्तो संकटको बेला पीडितलाई सुरक्षा मात्र होइन, जीवन धान्नका लागि आधारभूत आवश्यकता पनि तत्काल पुर्याउनु प्रहरीको कर्तव्य हो,’ उनले भने ।
चौलागाईंले अगाडी थपे, ‘दुई दिनदेखि खाना नखाएका लगभग एक सयभन्दा बढी व्यक्तिलाई रातको ११ बजेको समयमा खाना खुवाएका हौं । उहाँहरुको घरमा बाढी पसेर आगो बाल्न र सुत्न सक्ने अवस्था थिएन । उहाँहरु भोकै हुनुहुन्छ भनेर जानकारी पाएपछि आफैं गएर ल्याएका थियौं ।’
खाना वितरणको यो अभियानमा प्रहरी टोलीलाई स्थानीय समुदाय र केही नागरिक अगुवाहरुको समेत साथ मिलेको छ । खाद्यान्न र तयारी खानाका लागि आवश्यक स्रोत जुटाउन स्थानीयहरूले सहयोग गरेका हुन् ।
चौलागाईंले आफ्नो टोली सुरक्षाकर्मीको भूमिकामा रहे पनि मानवीय संवेदनशीलतालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए । इन्सपेक्टर चौलागाईंको टोलीले बाढी प्रभावित परिवारलाई राहत र खाना उपलब्ध गराउने कार्य निरन्तर जारी राख्ने जनाएको छ ।
Facebook Comments