विधान संशोधनसहित कांग्रेसका जेन–जी युवाको ९ बुँदे अपिल


काठमाडौं । नेपाली कांग्रेसको जेनजी पुस्ताका १९ जना युवाहरूले पार्टीको विधान संशोधन गरेर युवाहरूका लागि ढोका फराकिलो बनाउन माग गर्दै शनिबार एक अपिल जारी गरेका छन् ।
देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको मुख्य उद्देश्य प्राप्तिका लागि पार्टीभित्र र बाहिर परिवर्तन अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।
७ वटै प्रदेशका युवाहरूको प्रतिनिधित्व गर्दै आएका उनीहरूले ’मुलुकमा भएको परिवर्तनलाई गम्भीर रूपले आत्मसाथ गर्दै’ कांग्रेसलाई आफूभित्र परिवर्तनको सहज र तीव्र मार्ग रोज्न विनम्रतापूर्वक आग्रह गरेका छन् ।
यस्ता छन् अपिलहरू
१.मुलुकमा सुशासन स्थापनाका लागि कांग्रेसले आफैभित्र आन्तरिक सुशासन आयोग गठन गरोस्, जसले जनप्रतिनिधिको प्रवृत्ति अनुगमन गरी प्रोत्साहन र कारबाहीको सिफारिस गरोस् ।
२.भदौ २३ गतेको प्रदर्शनमा भएको अत्याधिक बल प्रयोगको गहिरो छानबिन र दोषीलाई कडा कारबाही गर्ने पार्टीको निर्णयमा प्रष्ट उभिनुपर्छ ।
३.भदौ २४ गतेको प्रदर्शनमा घुसपैठ गरी तोडफोड र आगजनी मा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।
४.भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न कांग्रेसको प्रष्ट प्रतिबद्धता र सहयोग रहनुपर्छ ।
५.नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरी आधुनिक दलका रूपमा अघि बढ्ने रोड म्याप सार्वजनिक गर्नुपर्छ ।
६.पार्टीको केन्द्रीय समितिको बैठकले विधान संशोधनको ढोका खोलेर सबै तहमा प्रतिष्पर्धा मार्फत जेनजी उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ ।
७.फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउन कांग्रेस अग्रसर हुनुपर्छ ।
८.फागुन २१ को निर्वाचनलाई ऐतिहासिक बनाउन नवयुवा तथा आम नागरिकलाई मतदाता दर्ता गराउन कांग्रेसले 'Vote Ready Nepal' अभियान सञ्चालन गरोस् ।
९.नेपाल विद्यार्थी संघ लगायतका भातृ संस्थाहरूलाई पुनःपरिकल्पना र पुनःसंरचना गर्न अध्ययनका लागि कार्यदल गठन गरियोस् ।
साथै युवाहरूले आफूहरू (Dignity, Dedication, Democracy, Discipline, Digital Transformation, Delivery and Development) को मान्यतामा अग्रसर भएको पनि स्पष्ट पारेका छन् ।
Facebook Comments