जेन–जी आन्दोलनको क्रममा मकवानपुर क्रिकेट संघको स्टोर जलेर नष्ट

काठमाडौं । भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा मकवानपुर जिल्ला खेलकुद विकास समिति परिसरभित्र रहेको मकवानपुर क्रिकेट संघको स्टोर रुम पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीले संघको स्टोरमा रहेका क्रिकेट खेलसम्बन्धी सम्पूर्ण सामग्रीहरू क्षतिग्रस्त भएका छन् ।
यस घटना र क्षतिको विस्तृत विवरण समेटिएको औपचारिक पत्र आज मकवानपुर क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालाई भेटेर हस्तान्तरण गरेका छन् ।
पत्र बुझ्दै क्यानका सचिव पारस खड्काले घटनाप्रति गहिरो दुःख व्यक्त गरे । उनले मकवानपुर क्रिकेट संघलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै नयाँ खेल सामग्री उपलब्ध गराउन स्रोत जुटाउने आश्वासन दिएका थिए ।
आगलागीका कारण जिल्लामा क्रिकेट विकासमा अस्थायी अवरोध आए पनि, क्यानको सहयोगबाट नियमित गतिविधिहरू पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ ।
Facebook Comments