मधेशमा नयाँ सरकार गठन गर्न ५ दलीय गठबन्धन, जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति


जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दलीय गठबन्धन हुने भएको छ । गएराति मध्यरातसम्म बसेको विभिन्न दलहरूको बैठकले गठबन्धन गर्दै लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ ।
गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा), जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्त ठाकुरको उपस्थितिमा गठबन्धनबीच सहमति भएको हो । यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् । उनीहरुले आजै सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।
उता यसअघि नै नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी प्रदेश प्रमुखको कार्यालयमा पेश गरिसकेका छन् । यो गठबन्धनले कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा सरकार गठनसहितको दाबी पेश गरेको हो ।
दाबीपत्र अनुसार एमाले, कांग्रेस र जनमत गरी तीन राजनीतिक दलका ५८ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको उल्लेख गरिएको छ, जुन अहिले प्रदेशसभामा कायम रहेका सदस्यसंख्याको बहुमत हो।
हाल मधेश प्रदेश सभामा १० दल प्रतिनिधित्व गर्दै आएका छन्। जसमा जम्मा १०७ जना प्रदेशसभा सदस्य छन्। तीमध्ये तीन दलका ५८ सांसदको समर्थनमा नयाँ सरकार गठनको दाबी भएको हो। यद्यपी जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि गठबन्धनमा असर परेको बुझिएको छ ।
Facebook Comments