धनकौल गाउँपालिकाका जनप्रतिनिधिले आफन्तलाई मात्र बाँडे बाढी पीडितको राहत

बसोबास समेत गुमाएका दर्जनौँ परिवार राहतविहीन

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f1d5a071a22.PNG

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा बाढी पीडितका लागि विभिन्न गैरसरकारी संस्थाले पठाएको राहत सामाग्री पालिकाका जनप्रतिनिधिले आफन्त र निकट कार्यकर्ता माझ मात्र बाँडेको आरोप लागेपछि स्थानीयले विरोध गरेका छन्।

बिहीबार बिहानैदेखि बाढी पीडितहरू पालिका कार्यालय अगाडि नारा जुलुससहित विरोधमा उत्रिएका थिए। उनीहरूले राहत वितरणमा भएको भेदभाव र अनियमिततामाथि छानबिनको माग गरेका छन्।

पीडितहरूको आरोप अनुसार बाढीबाट वास्तविक रूपमा घरहरुमा क्षति भएकालगायत बसोबास समेत गुमाएका दर्जनौँ परिवार राहतविहीन छन्। तर पालिकाका जनप्रतिनिधिले आफ्ना नातेदार, पार्टीका कार्यकर्ता र आसेपासेलाई प्राथमिकता दिएर राहत वितरण गरेको उनीहरूको दाबी छ।

एक पीडितका अनुसार क्षतिको विवरण संकलन गर्न सबैतिर गएर प्रहरी खटिएको र क्षतिको फोटो, भिडियोसमेत खिचेर लगिएको थियो तर राहत वितरणमा तिनै वास्तविक पिडितलाई नै बञ्चित गराइएको छ ।

बिहिबार विरोध प्रदर्शन गर्न पालिकामा पीडितहरु पुगेपछि पालिका अध्यक्षसहित कर्मचारी सबैले केहि समयमै कार्यालय बन्द गरेर बेपत्ता भएका थिए । आफूहरुको आवाज समेत सुन्न नसक्ने जनप्रतिनिधि भन्दै उनीहरुले झन गुनासो गरे । यसअघि जिल्लाकै कोडैना गाउँपालिकामा पनि जनप्रतिनिधिले आफन्तलाई मात्र राहत वितरण गरेर वास्तविक पीडितलाई राहत नदिएको भन्दै हुलाकी सडक नै बन्द गरेर विरोध गरेका थिए।


Facebook Comments