जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्षसहित १० प्रहरी घाइते


काठमाडौं । जनकपुरमा गएराति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो ।
सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरूले दीपावलीको मुखमा राति आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए । सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले अश्रु ग्यास समेत चलाएको थियो ।
प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरूबीच विवाद बढेको थियो । सो क्रममा अध्यक्ष भण्डारीको टाउको फुटेको छ भने शरीरका अन्य भागहरुमा पनि चोट लागेको छ ।
उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । यता प्रहरीतर्फ झडपमा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डीएसपी गणेशबहादुर बमले जानकारी दिए । डीएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन ७ राउण्ड हवाई फायर र २ सेल अश्रुग्यास प्रहार गरिएको हो ।
यसैबीच उद्योग वाणिज्य संघले राति नै विज्ञप्ति जारी गरी प्रहरीले गरेको क्रियाकलापको घोर भर्त्सना गरेको छ भने दोषीमाथि कारवाहीको माग गरेको छ ।
Facebook Comments