पाकिस्तान र अफगानिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f46766b245b.jpg

काठमाडौं । महिनौँदेखिको सीमा तनावपछि पाकिस्तान र अफगानिस्तानबीच कतारको दोहामा तत्काल युद्धविराम गर्ने सहमति भएको छ ।

कतार र टर्कीको मध्यस्थतामा भएको लामो छलफलपछि आइतबार यो सहमति जुटेको कतारी विदेश मन्त्रालयले जनाएको छ । विज्ञप्ति अनुसार, युद्धविरामका साथै स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको छ ।

झन्डै १३ घण्टासम्म चलेको वार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिक तथा अफगानिस्तानका रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए ।

अक्टोबर ११ देखि १५ सम्म स्पिन बोल्डकसहित सीमा क्षेत्रका विभिन्न प्रान्तमा दुई देशका सेनाबीच भीषण भिडन्त भएको थियो ।

पछिल्लो झडपमा संयुक्त राष्ट्रसंघीय सहायता मिसन इन अफगानिस्तान (युनामा) का अनुसार अफगानिस्तानमा ३७ नागरिक मारिएका र ४२५ घाइते भएका थिए । पाकिस्तानी पक्षबाट पनि २३ सैनिक मारिएका थिए ।

कतारी विदेश मन्त्रालयले यो सहमतिले सीमा तनाव कम गरी क्षेत्रीय स्थिरताका लागि आधार तयार पार्ने विश्वास व्यक्त गरेको छ ।


Facebook Comments