महासचिव पदबाट मोहन वैद्यले दिए राजीनामा


काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य समस्याका कारण उनले दिएको राजीनामा शनिबार राति सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले स्वीकृत गरेको छ ।
केन्द्रीय कमिटीले वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई पार्टीको नयाँ महासचिवमा नियुक्त गरेको छ । वैद्यको अनुपस्थितिमा गजुरेलले यसअघि कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए ।
नेता हुकुम सिंहका अनुसार, लामो समयदेखि निमोनिया र दमले पीडित वैद्यले शारीरिक रूपमा काम गर्न नसक्ने भन्दै भर्चुअल माध्यमबाट राजीनामाको जानकारी गराएका थिए । उनी गत वर्ष मंसिर २३ गते सर्वसम्मत महासचिव नियुक्त भएका थिए ।
राजीनामा स्वीकृत भए पनि वैद्यको भूमिका पार्टीको संरक्षक, वैचारिक तथा सैद्धान्तिक नेताका रूपमा कायम रहने नेता सिंहले बताए । बैठकले परी थापा र सिताराम तामाङलाई स्थायी समिति सदस्यमा नियुक्त गरेको छ ।
Facebook Comments