अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन, विश्वभर विरोध

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4aa4f0b782.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ’राजतन्त्रीय’ कार्यशैलीको विरोधमा अमेरिकाभर ’नो किङ्स’ नामक विशाल प्रदर्शन भएको छ ।

वाशिंटन डीसी, न्यूयोर्क (टाइम्स स्क्वायर) र लस एन्जलसहितका प्रमुख सहरहरूमा हजारौं नागरिक सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीले ’राजतन्त्र होइन, लोकतन्त्र’ र ’संविधान ऐच्छिक होइन’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत् निकायहरू विघटन गर्ने र राजनीतिक शत्रुलाई कारबाही गर्ने प्रयासलाई आलोचकहरूले असंवैधानिक र लोकतन्त्रका लागि खतरा मानेका छन् ।

न्यूयोर्क प्रहरीका अनुसार सहरभर करिब १ लाखभन्दा बढी मानिस भेला भएका थिए । राष्ट्रपति ट्रम्पले आफू राजा नभएको प्रतिक्रिया दिएका छन् ।

यो प्रदर्शनसँगै बर्लिन, लन्डन र टोरन्टो लगायतका युरोपेली र क्यानडाली सहरहरूमा पनि विरोध र्यालीहरू भएका छन् । हालैको सर्वेक्षणअनुसार ट्रम्पको स्वीकृति दर ४० प्रतिशतमा खुम्चिएको छ ।


Facebook Comments