अलौकिक ‘पञ्चकुण्ड हिमताल’

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f84abe7f78c.jpg

म्याग्दी । उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ  निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्योदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने ।
 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पञ्चकुण्ड तालको सौन्दर्य लोभलाग्दो छ । अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । 
 
नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकको रोजाइमा पर्न थालेको छ । हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु पञ्चकुण्डको मुख्य विशेषता भएको इटालीकी पर्यटक निमाले अनुभव सुनाइन्। 
 
“वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो”, उनले भनिन्, “यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःख कष्ट र तनाव मुलेर मनमा उमङ्ग छाएको महसुस गरेकी छु ।” 
 
एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । पञ्चकुण्ड ताल प्रकृति र संस्कृतिको सङ्गम हो । 
 
पर्यटकले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन् । कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउँछन् । दुई वर्षअघिसम्म यो ठाउँ सुनसान थियो । प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमा सीमित थियो । मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहलपहल बढेको हो । 
 
पञ्चकुण्डमा होटल सञ्चालन गरेकी नारच्याङकी नरिमाया गर्बुजा गुरुङले ताल अवलोकन गर्न हाल दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउन थालेका जानकारी दिइन् । “सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण चर्चामा आएपछि यसपालीको दसैँ र तिहारको बीचमा आन्तरिक पर्यटकको थामिनसक्नु भीड लाग्यो”, उनले भनिन्, “यहाँ रहेका होटलको क्षमताभन्दा बढी पाहुना आउँदा हामीलाई व्यवस्थापन गर्न पनि समस्या भयो ।”
 
पञ्चकुण्डको धार्मिक महत्व पनि छ । पाँच वटा कुण्ड भएकाले पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका चन्द्रजित पुनले बताए । “यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा उल्लेख छ”, उनले भने, “अहिले हिउँ पग्लिएर सबै ताल एउटै बनेको छ ।” परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । 
 
पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ । स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाडाँलाई कागभुसुण्डी नामकरण गरेका छन् । 
 
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाको बेलिब्रिज तरेर नारच्याङ बेँसी हुँदै हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा गाडीको यात्रा र त्यसपछि छ घण्टा पैदलयात्रा गरेपछि पञ्चकुण्ड ताल पुगिन्छ । 
 
हुमखोलादेखि गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, गुफाफाँट, आकाशे गुफा, रातो झरना, भुसकेट मेला, सुनखोला, पञ्चकुण्ड हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग छ । छिटो हिँड्नसक्ने हुमखोलदेखि एकैदिनमा पञ्चकुण्ड पुग्न सक्छन् । विस्तारै हिँड्नेहरु हुमखोलादेखि भुसखेत गएर बास बस्ने र एक बिहान हाइकिङ गरेर पञ्चकुण्ड पुग्छन् । 
 
पञ्चकुण्डदेखि एक घण्टा पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । यहाँबाट पर्वतारोहीले अन्नपूर्ण हिमालको आरोहण गर्छन् । समथर फाँटमा रहेको आधार शिविरबाट पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमालको दृष्यावलोकन गर्न सकिन्छ । 
 
पदमार्गमा रहेका अस्थायी संरचनामा सञ्चालित होटलमा खाना र बस्नको सुविधा छ । पञ्चकुण्ड ताल नजिकै रहेको आश्रयस्थल भवन र टेण्टमा पाहुनालाई राख्ने गरिएको छ । पाहुनाको चाप धेरै भएकाले पहिले नै बुकिङ गरेर आउन भुसकेटका होटल व्यवसायी माइकल पुनले अनुरोध गरे । 
 
पाहुनाको चापसँगै तालको सरसफाइमा चुनौती बढेको छ । पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्छ । तालमा पौडी नखेल्न र फोहर नगर्न पाहुनालाई अनुरोध गरिएको छ । हिउँदयाममा तालमा बरफ जम्ने गर्छ । जमेको तालमाथि हिँडडुल गर्दा फुतेर दुर्घटनाको जोखिम भएकाले त्यसो नगर्न स्थानीयले अनुरोध गरेका छन् । 
 
विद्युत् र सञ्चार सुविधाको अभाव छ । अन्नपूर्ण हिमालको प्रथम आरोही टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा यस पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण भएको छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यस पदमार्गमा आधारभूतस्तरको पूर्वाधार तयार पारेपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । 
 
आधार शिविर, पञ्चकुण्ड ताललगायत गन्तव्य र पदमार्गको प्रचारप्रसारका लागि अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा महोत्सव आयोजना गर्नुका साथै गत जेठमा अन्नपूर्ण आरोहणको ७५ वर्ष पुगेका अवसरमा विशेष कार्यक्रम गरेको थियो ।
 
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले स्थायी र भौतिक संरचना निर्माण गर्न नपाएपछि अस्थायी संरचनामा पाहुनालाई खानेबस्ने व्यवस्था मिलाएर पदमार्ग सञ्चालन गरिएको जानकारी दिए । 
 
अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित गराएर सङ्घीय सरकारले हिमाल आरोहणबापत दिने राजस्व ‘रोयल्टी’मा दाबी गरिएको उनले बताए । गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सङ्घीय सरकारको लगानीमा पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, सार्वजनिक शौचालय, आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरिएको छ । 
 
गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले मौरिस हर्जोग पदमार्ग, पञ्चकुण्ड ताललगायतका गन्तव्यको विकासका साथै प्रवद्र्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिए । 
 
“छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका दृष्टिकोणले प्रशस्त सम्भावना छ”, उनले भने, “मौरिस हर्जोग पदमार्गमा सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।” 


Facebook Comments