लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fb02ece38ce.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसानहरूले शून्य खनजोत (जिरो टिलेज) प्रविधि अपनाएर लसुनखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । धान काटिसकेपछि खेत खनजोत नगरी सिधै धानको ठुटोमा लसुन रोप्ने यो प्रविधि स्थानीय किसानका लागि नगदे बालीको उत्तम विकल्प बनेको छ ।

किसान जनकलाल डगौराका अनुसार यस प्रविधिमा धान काटिएपछि चिस्यान रहेको खेतमा कुटो वा औजारको सहायताले धानको गाँजको बीचमा सिधै लसुनका पोटी (केस्रा) रोपिन्छ । रोपेपछि गोठेमल छर्केर करिब १० सेन्टिमिटर बाक्लो पराल वा भुसले छोप्ने गरिन्छ ।

यस प्रविधिमा लसुनको गानो ठूलो र स्वादिलो हुने भएकाले बजारमा माग उच्च छ । किसानहरूले प्रतिकट्ठामा करिब दुई क्विन्टलसम्म लसुन उत्पादन गर्छन् ।

याममा प्रतिकिलो रु तीन सयदेखि रु पाँच सयसम्म मा बिक्री हुने र प्रतिकट्ठामा रु ३० हजार सम्म आम्दानी हुने गरेको किसान विनोद डगौराले बताए । जनकलाल डगौराले पाँच कट्ठामा रु ९० हजारसम्म आम्दानी गर्छन् ।

कृषि विकास अधिकृत विनयराज जोशीका अनुसार जिरो टिलेज प्रविधिले खेत जोत्ने झन्झट र लागत घटाउँछ । यसले माटोको उर्वरा शक्ति कायम राख्नुका साथै गोडमेलको आवश्यकता पनि घटाउँछ, जसले समय, श्रम र लागतमा बचत हुन्छ ।

पहिले लसुन किन्नुपर्ने किसानहरू अहिले घरको खपतपछि बाँकी बिक्री गर्न थालेका छन् र व्यापारीहरू घरमै आउने गरेका छन् । यो प्रविधिप्रति पिपलाडीसहित नगरपालिकाको अन्य क्षेत्रका किसानको आकर्षण बढ्दै गएको छ ।


Facebook Comments