ट्रम्पको विश्व पुनःनिर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल–हमासबीच भएको अमेरिकी–मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उनका पछाडि उभिएका विश्व नेताहरू केवल प्रतीकात्मक रूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो ।
गाजा युद्धदेखि युक्रेन द्वन्द्वसम्म युरोपेली देशहरू कूटनीतिक रूपमा आफ्नो स्थान जोगाउन सङ्घर्षरत छन् भने ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत विश्व राजनीतिलाई पुनः आकार दिने प्रयास तीव्र बनाएका छन् ।
भू–राजनीतिक विज्ञ लिन्डसे न्युम्यान भन्छन्, “ट्रम्पको नीति अब अलगाववादी होइन—उहाँ आफ्नो छविमा संसार पुनःनिर्माण गर्दै हुनुहुन्छ । युरोपले उहाँलाई प्रभाव पार्न सक्ने सम्भावना अत्यन्त न्यून छ ।”
– युक्रेन युद्धमा दबाब र विभाजन –
रूसविरुद्ध युरोपको समर्थन र ट्रम्पको दृष्टिकोणबीच गहिरो मतभेद छ । उनले पछिल्लो हप्ता रूसी तेल–ग्यास उद्योगमाथि प्रतिबन्ध लगाए पनि त्यो कदम रुसी राष्ट्रपति पुटिनप्रतिको निराशाबाट बढी प्रेरित थियो । उनले भने, “मैले धेरै पटक भ्लादिमिरसँग राम्रो कुरा गरेको छु, तर केही परिणाम निस्किँदैन ।”
ट्रम्पले युक्रेन युद्ध रोक्ने वाचा पूरा गर्न सक्नुभएको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र पुटिनबीच वार्ताको पहल असफल भएपछि उनले युरोपेली नेताहरूलाई सहयोगको आग्रह गरे। तर युरोप भित्रै मतभेद देखिएको छ । युरोपेली सङ्घ (इयु) ले युक्रेन सहयोगका लागि फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमति जुटाउन सकेको छैन । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अझै पनि समर्थनको विरोध गरिरहेका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने प्रतिबन्धलाई ‘निर्णायक मोड’ भनेका छन् तर विश्लेषकहरू भन्छन्, “युरोपेली एकता नटुट्नु नै युरोपको आंशिक विजय हो ।”
– मध्यपूर्वमा युरोपको प्रभाव कमजोर –
इजरायल–हमास युद्धविराममा युरोपको भूमिका न्यून रह्यो । ट्रम्पले इजिप्ट, कतार, टर्की र साउदी अरबको भूमिकाको प्रशंसा गरे तर युरोपको योगदानबारे मौन रहे । इयु विश्वकै सबैभन्दा ठूलो सहायता प्रदायक भए पनि इजरायलमाथि यसको दबाब सीमित छ ।
बेलायत र फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमले अमेरिकी प्रशासनलाई असन्तुष्ट तुल्याएको बताइन्छ । ट्रम्पका नजिकका अधिकारीहरूले पनि लन्डनको भूमिकालाई ‘भ्रमपूर्ण’ भनेका छन् ।
विश्लेषक जोनाथन स्चान्जर भन्छन्, “ट्रम्पको युद्धविरामले युरोपेली आलोचनालाई केही समयका लागि शान्त पारेको छ र दुवै पक्षलाई रचनात्मक संवादतर्फ अग्रसर बनाएको छ ।”
न्युम्यानका अनुसार ट्रम्प अब युरोपभन्दा मध्यपूर्वका मुलुकहरूसँग सम्बन्ध विस्तारमा बढी केन्द्रित छन् । उनी भन्छन्, “जहाँ अन्य अमेरिकी प्रशासनहरू टाढा जान खोज्थे, ट्रम्प त्यहाँ केन्द्रविन्दु खोजिरहनुभएको छ ।”
– युरोपका लागि मिश्रित सन्देश –
ट्रम्पले नाटोबाट अमेरिकालाई फिर्ता नगरे पनि र युरोपेली सामानमा भारी कर नलगाए पनि उनले देशहरूलाई रक्षा खर्च बढाउन दबाब दिइरहेका छन् । युक्रेनमा रुसको आक्रमणले पनि युरोपमा सुरक्षा चेतना बढाएको छ ।
सन् २०२० मा इयु छोडेको बेलायत पुनः आफ्नो छिमेकीहरूसँग नजिकिएको छ । प्रधानमन्त्री किर स्टार्मर वासिङ्टन र महाद्वीपबीचको प्रमुख कडी बनेका छन् ।
इतिहासकार क्याथलिन बर्कका शब्दमा, “ट्रम्पले बुझ्न थालेका छन्,—शत्रुभन्दा सहयोगी हुनु सधैंँ राम्रो हुन्छ । यदि युरोप एकजुट रह्यो भने उनीहरूको प्रभाव अझ बढ्न सक्छ ।”
Facebook Comments