छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fc8c874abb6.PNG

काठमाडौं । सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् ।

दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । छठको मुख्य दिन आज राजधानीको गुह्येश्वरीबाट गौरीघाटसम्म बनेको छठ घाटमा भक्तजनको चहलपहल बढेको छ ।
 
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 
 
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । 
      
व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । 
 
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।
 
कार्तिक शुक्ल षष्ठीको रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।  
 
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती, नक्खु र विष्णुमती नदी किनारका विभिन्न स्थानमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ ।


Facebook Comments