लागूऔषधसहित देशभरबाट पाँच जना पक्राउ
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
बर्दिया । बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–४ एफ गाउँ बस्ने ३० वर्षीय खेमलाल गुरूङ र २७ वर्षीया अन्जु गुरूङ रहेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका–२ क्याम्पाचौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट, भोमिइन ३ सय ९० ट्याब्लेट, डाईजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुल सहित सोही महानगरपालिका–१५ रामपुर बस्ने ३५ वर्षीय सिंह राज लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले ना।२० प ५७५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय भोजराज चौहानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका–८ पचुई बस्ने ३० वर्षीया संगिता चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments