बझाङको थलारा गाउँपालिकामा बनेको वायु ऊर्जा अलपत्र, चाँडो सञ्चालनमा ल्याउन स्थानीयको माग
डीबी विष्ट
|
एक दिन अगाडि
बझाङ । झन्डै ७ वर्षदेखि अलपत्र बनेको बझाङको थलारा गाउँपालिका– ४ मा निर्माण गरिएको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । वैकल्पिक प्रबर्द्धन ऊर्जा केन्द्र काठमाडौंको लापरबाहीले गर्दा १ करोड ७२ लाखको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि अलपत्र बनेको हो । बझाङको थलारा, ठिङ, पणेश गाउँलाई समेट्ने गरी वि.सं २०७६ सालमा निर्माण कार्य सुरु भएको थियो ।
निर्माण कार्य एक वर्षभित्रै लगभग पुरा भएपनि सञ्चालनमा नल्याएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । लथालिंग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेको बताइएको छ । २२ किलोवाट क्षमताको वायु उर्जा अहिले काम नलाग्ने अवस्थामा पुगेको स्थानीय समाजसेवी जनक बहादुर रावलले बताए ।
सबै प्रकृया पुरा गरेको भएपनि उक्त वायु उर्जाबाट विद्युत विस्तार नहुँदा समस्या भएको हो । अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हाल उक्त गाउँमा सानो मोयल ठिङ लद्यु जलविद्युतले विद्युत आपूर्ति गर्दै आएको छ ।
अँध्यारोबाट मुक्त हुने आशामा रहेका नागरिकहरुले यस वैकल्पिक उर्जामा श्रमदान पनि गरेका थिए । अहिले सडकले छोएको यो गाउँमा त्यतिबेला सडक संजालले समेत छोएको थिएन । स्थानीय दीपक बहादुर बोहराले भने, ‘वायु उर्जाको सामाग्रीहरु गाउँका सबैजना मिलेर साँघा बाँधेर (उर्जाका सामाग्रीहरु काठमा बाँधेर बोक्ने) निर्माण स्थल सम्म ल्याएको थियौं ।’ निकै ठुलो कष्ट गरेर निर्माण गरिएको आयोजना अलपत्र परेको देख्दा दुःख लागेको बोहराले बताए । साथै निर्माणको क्रममा ठेकेदारले काममा लगाएको ज्याला समेत नदिएको स्थानीय श्रमीकहरुको गुनासो छ ।
आर्थिक बर्ष २०७४/०७५ सालमा वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र केन्द्र काठमाडौंले ठेक्का आह्वान गरेको थियो भने २०७६ सालदेखि निर्माण कार्य थालिएको थियो । वायु उर्जालाई सञ्चालनमा ल्याउनुका लागि दबाब दिन स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् ।
स्थानीय समाजसेवी जनक बहादुर रावलको नेतृत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरेर सम्बन्धित निकायमा हारगुहार गर्दै आएका छन् । सरोकारवाला निकायलाई पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको संघर्ष समितिका अध्यक्ष रावलले बताए ।
उनी भन्छन् हाम्रो पहुँच छैन, पहुँचवालाहरुको मात्रै गाउँ ठाउँमा र देशमा हालीमुहाली चल्दो रहेछ । हाम्रो कुरा कहीँबाट पनि सम्बोधन नभएपछि ताकेता गर्न छोड्यौँ । अहिले ठेकेदार कम्पनी, वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका कर्मचारी कोहीसँग पनि सम्पर्कमा नरहेको उनले बताए ।
उनका अनुसार वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले पनि अहिले सम्म कुनै चासो दिएको छैन । निर्माण स्थलमा ल्याएका सोलारका पाताहरु, ब्याट्रिहरु, तार तथा अन्य सामाग्री पनि अब काम नलाग्ने अवस्थामा पुग्न थालेका छन् । वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले चासो दिएर सानो लगानी गर्न सकेको खण्डमा उक्त वायु उर्जा पुन संचालनमा आउने अवस्था छ । वायु उर्जा संचालनमा आएको खण्डमा यहाँका झण्डै १ सय ५० परिवार भन्दा बढी विद्युतको पहुँचमा आउनेछन् ।
Facebook Comments