न्यूनतम पारिश्रमिकको माग राख्दै मकवानपुरका नर्सहरू आन्दोलित

User Image दिक्षान्स खड्का | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/narsa.png

हेटौंडा । मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले आज बुधबारदेखि दुई घण्टा नर्सिङ सेवा बन्द गर्ने भएका छन् । नेपाल नर्सिङ संघको आह्वानमा जारी आन्दोलनअन्तर्गत स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गर्ने भएका हुन् ।

संघको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुसार गत कात्तिक ४ गतेबाट ११ गतेसम्म नर्सहरुले कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए । हेटौंडा अस्पताललगायत सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए ।

आन्दोलनको कार्यक्रममा एकेबद्धता जनाउँदै कात्तिक १८ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेक नर्सिङ सेवा बन्द गर्ने नेपाल नर्सिङ संघ मकवानपुरका अध्यक्ष गंगा दाहालले जानकारी दिए । १८ गतेसम्म पनि माग सुनुवाई नभए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलको प्रतिवेदनअनुसार आन्दोलनका कार्यक्रम थप गर्ने पनि अध्यक्ष दाहालले बताए ।

गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ संघले पेश गरेको माग पूरा गर्ने सम्बन्धमा कार्यदल बनाएकाले अबको एक हप्ता प्रतिक्रिया कुरेको पनि अध्यक्ष दाहालले स्पष्ट पारेका छन् ।

नेपाल नर्सिङ संघले गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरुको न्यूनतम पारिश्रमिक र सेवा सुबिधा नेपाल सरकारको सरह हुनुपर्ने प्रमुख माग राख्दै नर्सहरु आन्दोलनमा उत्रिएका हुन् ।

श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने, रात्रिकालीन वा सार्वजनिक वा चाडपर्व बिदाको दिनमा काम गरेबापत सरकारी, निजी तथा शिक्षण अस्पतालमा अतिरिक्त तथा जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, योग्यता र अनुभवको आधारमा स्तरवृद्धि तथा बढुवाको व्यवस्था हुनुपर्ने, ग्रेडको व्यवस्था हुनुपर्ने, औद्योगिक नर्सको व्यवस्था हुनुपर्ने लगायतका १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम सुरु भएको थियो ।


Facebook Comments