नेपाल–भारतबीच थप दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौता
मन्त्री घिसिङ र खट्ठरबीच भेटवार्ता
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । अन्तरराष्ट्रिय सौर्य गठबन्धनको महासभामा सहभागी हुन नयाँ दिल्लीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच आज भेटवार्ता भएको छ ।
भेटवार्ताको क्रममा विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीका आयोजनाको प्रगति र दीर्घकालीन ऊर्जा साझेदारीका विषयमा विस्तृत छलफल भएको हो ।
मन्त्री घिसिङ र भारतीय समकक्षी खट्ठरको उपस्थितिमा इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडबीच संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतामा हस्ताक्षर भएको छ ।
मन्त्री घिसिङले यस सम्झौताबाट द्विपक्षीय एवं क्षेत्रीय विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि हासिल भएको र नेपालको विद्युत् अन्तरराष्ट्रिय ऊर्जा बजारसम्म पुग्ने आधार तयार भएको बताए ।
भारतीय विद्युत्मन्त्री खट्ठरले थप प्रसारण लाइन निर्माणले दुई देशबीचको विद्युत् विनिमय प्रक्रियामा सहजता ल्याउने र क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार आउने धारणा व्यक्त गरे ।
मन्त्रिपरिषद्को असोज ३० को बैठकले नै प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्न र प्राधिकरणलाई स्वपुँजी (इक्विटी) लगानी गर्न स्वीकृति दिइसकेको थियो ।
Facebook Comments