सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
मेयरसाप डेस्क
|
६ घण्टा अगाडि
काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा सामूहिक बिगोको आफ्नो भागको रकम (करिब रु. २ करोड ७४ लाख ८४ हजार) बैंक जमानतबापत दाखिला गर्दा पनि रुपन्देही जिल्ला अदालतले साउन २६ गते लामिछाने र जोशीलाई रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उच्च अदालतले बिगो रकम दाखिला गरेर थुना बाहिरैबाट मुद्दा लड्न पाउँ भनी दिएको निवेदनमा दुवै मुद्दालाई साथै राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो ।
सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीहरूलाई रु. १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरिएको छ । हाल लामिछाने भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागार सरुवा भइसकेका छन् भने जोशी भैरहवा कारागारमै छन् ।
Facebook Comments