राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
कूटनीतिक ’भ्याकुम’ सिर्जना गर्ने दाबी
मेयरसाप डेस्क
|
एक दिन अगाडि
काठमाडौं । विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमा सुनुवाइ हुन लागेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले दायर गरेको रिटमा मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट अनुमोदन भई राष्ट्रपतिद्वारा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयलाई ’असंवैधानिक’ भनिएको छ ।
रिटमा निर्वाचनको म्यान्डेट प्राप्त नभएको सरकारले गरेको सो निर्णय बदर गर्न र कार्यान्वयन नगर्न–नगराउन परमादेश जारी गर्न माग गरिएको छ । कात्तिक २० गतेभित्र फिर्ता बोलाउने सरकारी निर्णयले कूटनीतिक ’भ्याकुम’ सिर्जना गर्ने खतरा रहेको दाबी पनि रिटमा गरिएको छ ।
चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानसहित ११ देशका राजदूतहरू फिर्ता बोलाइएका छन् ।
Facebook Comments