महामन्त्रीद्वय र शेखरबीच भेटवार्ता, पार्टीभित्र बढ्दो विवादबारे छलफल

देउवा पक्षलाई बढ्यो चुनौती

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/sekhar-gagan-bishwa.jpg

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा देखिएको गतिरोध अन्त्य गर्न संस्थापनइतर पक्षका नेताहरू सक्रिय भएका छन् ।

आज बिहान नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा शीर्ष नेताहरूबीच छलफल भएको छ । पार्टीभित्र बढ्दै गएको विवाद र महाधिवेशनको अनिश्चितताबारे साझा रणनीति बनाउन शीर्ष नेताहरूबीच छलफल भएको हो ।

बैठकमा नेता कोइरालासहित पार्टीका पदाधिकारी तथा प्रभावशाली नेताहरूको सहभागिता रहेको थियो । सहभागीहरूमा उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै सहमहामन्त्री जीवन परियार र नेता बद्रीप्रसाद पाण्डे रहेका थिए ।

नेता कोइरालाको सचिवालयका अनुसार, उनीहरूबीच मुख्यगरी पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा गम्भीर छलफल भएको छ ।

सभापति शेरबहादुर देउवा पक्षले आगामी निर्वाचनअघि नियमित महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा जान पनि सम्भव नभएको बताउँदै आएका छन्, जसले गर्दा विवाद झनै बढेको देखिन्छ ।

कांग्रेसभित्र मंसिर महिनाभित्रै नियमित महाधिवेशन हुनुपर्ने दबाब बढ्दो छ । साथै, महाधिवेशन प्रतिनिधिहरूले समेत विशेष महाधिवेशनको माग गर्दै पार्टीमा दबाब सिर्जना गरेका छन् ।

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।


Facebook Comments