काठमाडौं महानगरले भत्कायो थापाथलीका अस्थायी घर र टहरा

गुठीको जग्गा अतिक्रमणमुक्त

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/dozar-ktm-mahanagar.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित कालमोचन राममन्दिर परिसरमा अवैध रूपमा बनेका व्यावसायिक संरचनाहरूमा डोजर चलाएर हटाएको छ ।

शुक्रबार बिहान महानगरपालिकाको टोलीले सो क्षेत्रमा रहेका टहरा र अस्थायी संरचनाहरू भत्काउने कार्य सम्पन्न गरेको हो ।

महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गुठी संस्थानको स्वामित्वमा रहेको जग्गा मिचेर व्यावसायिक टहरा र अस्थायी घरहरू बनाइएकोले ती अवैध संरचनाहरू हटाइएको जानकारी दिए ।

‘अवैध संरचना भत्काइएको हो। गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर, संरचना बनाइएको थियो। अहिले खाली गरिएको हो,’ प्रमुख पाण्डेले भने ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू हटाउने अभियानलाई पछिल्लो समय तीव्रता दिँदै आएको छ ।


Facebook Comments