लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/besisahar-chame.jpg

लमजुङ । केही दिनदेखि परेको वर्षाका कारण लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ ।

यस सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ ठाउँमा सडक माथिबाट ढुङ्गाहरु झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो १४ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले पानी निरन्तर परेपछि सो अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था नरहेको र जगतलगायत विभिन्न स्थानमा सडक माथिबाट ढुङ्गाहरु खसिरहेपछि सवारी सञ्चालन ठप्प भएको बताए ।

सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन् । यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ । 

यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारीसाधन सञ्चालन हुँदै आएको छ । पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ ।

सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरु बढी प्रत्यक्ष मर्कामा पर्ने गरेको छ । ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।


Facebook Comments