कार्तिकको वर्षा पूर्वकेन्द्रितः मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ८ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ८ घण्टा अगाडि
                             
                                                            काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छ भने बागमती र गण्डकी प्रदेशका केही जिल्लामा असर गरेको छ ।
आज राति कोशी केन्द्रित भएर वर्षा हुने जनाउँदै विभागका सूचना अधिकारी दिनकर कायस्थले रातिबाट क्रमशः सुधार हुँदै जाने पनि बताए। काठमाडौँ उपत्यकालगायत मध्यक्षेत्रमा वर्षा घट्दो क्रममा रहेको पनि विभागले जनाएको छ ।
विभागकाअनुसार हाल मोन्था चक्रवात भारतको छत्तिसगढ आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकामा आज रातिबाट सो प्रभाव कम भई क्रमिक रूपमा मौसममा सुधार हुनेछ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
उनले अहिले कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको जानकारी दिए। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज राति कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले सबैमा अनुरोध गरेको छ ।
कहाँ कति भयो वर्षा ?
विभागबाट प्राप्त साँझ ७ बजेको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा सबैभन्दा बढी २५० मिलीमिटर वर्षा भएको छ । यो अतिभारी वर्षा हो । झापामा १७२, उदयपुरमा १०३, इलाममा १५५ मिलीमिटर, गोरखामा १६५, मनाङमा ११२.८ मिलीमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।
लमजुङमा ८४, सिरहामा ८३ मिलीमिटर वर्षा भएको छ । अन्य धेरै मापन केन्द्रमा ५० देखि ८० मिलीमिटरबीचमा वर्षा भएको छ । अघिल्लो मनसुनी वर्षामा इलाममा २५० मिलीमिटरमाथि वर्षा हुँदा बाढी र पहिरोले ठूलो जनधानको क्षति पुर्याएको थियो । त्यसैले मौसम विज्ञान विभागले आज राति पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments