समाजवादीले माओवादीसहितका दलसँग एकता गर्दै, झलनाथ खनालले नयाँ पार्टी गठन गर्ने

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/cpn-s-ff.jpg

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्र र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको पार्टी एकतालाई अनुमोदन गरेको छ।

बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सार्वजनिक गर्दै पार्टी अध्यक्ष नेपालले उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिएका हुन्।

अध्यक्ष नेपालले बैठकमा पार्टी एकता, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीति सम्बन्धी बुँदागत प्रस्तावहरू प्रस्तुत गरेका थिए। उनका अनुसार, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित करिब ६० नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखे पनि, बहुमतले माओवादी केन्द्र र नेसपासँगको एकता अनुमोदन गरेको हो।

एकता प्रक्रियामा संलग्न नेताहरुले एक साताभित्रै एकता घोषणा गर्ने र निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रमाणपत्र लिने तयारी भइरहेको बताएका छन् ।

अध्यक्ष माधवकुमार नेपालले माओवादी सहितका पार्टीहरूसँग एकता गर्ने निर्णय लिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी गठन गर्ने भएका छन् ।उनले कानुनी रुपमा मिले यही पार्टी अघि बढाउने नभए नयाँ पार्टी बनाएर अघि बढ्ने बताएका हुन् ।

 


Facebook Comments