रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/himpahiro_1.jpg

दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । 
 
पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ । उनीहरुको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए । 
 
डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो । हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए।
 
उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।  


Facebook Comments