सोधपुछका लागि रवि लामिछानेलाई सिंहदरबार झिकाइयो

कारागार प्रमुखसँग बयानपछि रविसँग सोधपुछ

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rabi_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालय तर्फ हिँडाइएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई आज जेन–जी आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्किएको घटना बारे सोधपुछ गर्न लागिएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २४ गते लामिछाने अन्य कैदीबन्दीसँगै ’असुरक्षाको कारण देखाउँदै’ कारागारबाट बाहिर निस्किएको घटना र सो क्रममा प्रयोग भएको भनिएको कारागार प्रशासनको पत्रको आधिकारिकताबारे सोधपुछ गर्दैछ ।

आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याउन लागिएको कारागार स्रोतले जनाएको छ ।

सो घटनाको वस्तुस्थिति बुझ्न आयोगको टोली गत सोमबार कारागारमै पुगेको थियो भने अघिल्लो दिन कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिइएको थियो ।


Facebook Comments