सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क वाइफाइ सेवा शुभारम्भ

काठमाडौं उपत्यकाको १९ स्थानमा जडान

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/kharel-suvaramva.jpg

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज (सोमबार) गोँगबुस्थित नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको औपचारिक शुभारम्भ गरेका छन् ।

गत असोज ६ गते पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार मन्त्री खरेलले उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउन यो सेवा विस्तार गरिएको जानकारी दिए । उनले नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा यो सेवा जडान गरिएको बताए ।

नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वाइफाइ सेवा सञ्चालनमा आएको छ । यसअघि सेवा उपलब्ध भएका अस्पताल र पशुपति क्षेत्रमा मर्मतसम्भार र क्षमता विस्तार गरिएको छ ।

मन्त्री खरेलले दार्चुला, बझाङ, जाजरकोट, र मनाङको तिलिचो बेसक्याम्पसम्म इन्टरनेट पुगिसकेको र कमजोर नेटवर्क भएका सोलुखुम्बु, रामेछाप लगायतका दुर्गम क्षेत्रमा पनि प्रभावकारी इन्टरनेट सेवा पुर्याउन सरकारले काम गरिरहेको स्पष्ट पारे ।

नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ सेवाको निरन्तरता र दिगोपनाका लागि सहकार्य गरेका छन् ।

मन्त्री खरेलले आजै त्रिवि शिक्षण अस्पताल, पशुपति मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा सञ्चालनको अनुगमन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


Facebook Comments