सुन्दरहरैंचा ३ का स्थानीयले देउसी भैलो खेलेको रकमले जडान गरे सडकबत्ती
जनप्रतिनिधिलाई छैन चासो
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
मोरङ । सुन्दरहरैंचा नगरपालिका–३ का युवाहरुले देउसीभैलो खेलेर संकलन गरेको रकमबाट सडकबत्ती जडान गरेका छन् । लोचनी–घेराबनी युवा समाजले यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रम गरेर जम्मा भएको रकमबाट गाउँको करिब ३ किलोमिटर क्षेत्रमा सडकबत्ती जडान गरेको हो ।
४५ हजार लागतमा लोचनी र घेराबनी दुई वटा गाउँको ३६ स्थानमा सडकबत्ती जडान गरिएको छ । सडकबत्ती जडान गर्नकै लागि भनेर देउसीभैलो कार्यक्रम गरेको लोचनी–घेराबनी युवा समाजले कार्यक्रमबाट जम्मा १९ हजार रकम संकलन गरेको थियो । उक्त रकमबाट अतिआवश्यक स्थानमा मात्र बत्ती जडान गर्ने योजना थियो । तर काम गर्न सुरु गरेपछि स्थानीयले स्वस्फूर्त रुपमा आर्थिक सहयोग गर्न थाले, जसले गर्दा सबै ठाउँमा बत्ती जडान गर्न सफल भएको समूहका नेतृत्वकर्ता सिताराम खड्काले बताए ।

उनका अनुसार लोचनी–घेराबनी युवा समाजद्वारा संकलन भएको २९ हजार रकमबाट २३ स्थानमा र खोटाङे टोलका युवाबाट संकलन भएको १६ हजार रकमबाट १३ स्थानमा सडक बत्ती जडान भएको छ ।
सडकबत्ती नहुँदा चोरी डकैती जस्ता अपराधिक घटनाबाट गाउँमा निकै डर हुने गरेको थियो । साँझबिहान बाटो हिँड्न समेत समस्या हुने भएकाले बत्ती जडान गर्नु निकै आवश्यक ठानेर उक्त कार्य गरेको खड्का बताउँछन् ।
‘सडकबत्ती नहुँदा चोरीका घटनाहरु धेरै हुन्छ । राति हिँड्न सँधै डर हुन्छ । सडकबत्ती धेरै पहिलेदेखि नै आवश्यक थियो । तर स्रोत नभएका कारण राख्न सकेका थिएनौं’, खड्काले भने, ‘धर्म संस्कृतिको संरक्षण पनि हुने, बत्ती राख्न स्रोत पनि जुटाउन सकिने उपाय निकालेर यो वर्ष देउसीभैलो कार्यक्रम गर्यौं । सामाजिक कामका लागि भनेपछि सबैले राम्रो सहयोग गर्नुभयो र बत्ती जडान गर्न सफल पनि भयौं ।’
बत्ती जडान कार्यक्रम लगत्तै गाउँमा सरसफाइ कार्यक्रम गरेर २० स्थानमा ‘डस्टबिन’ राखेको समेत सीताराम खड्काले जानकारी दिए । गाउँलाई सफा राख्नका लागि व्यवसायीहरुबाट सहयोगस्वरुप ‘डस्टबिन’ लिएर अहिलेलाई २० स्थानमा राखेको र विस्तारै सहयोग प्राप्त भएमा अन्य स्थानमा समेत राख्ने योजना भएको उनले बताए ।

सडकबत्ती जडानका लागि पटक पटक वडा कार्यालयमा माग गर्दा वेवास्ता भएपछि स्थानीय आफैं जुटेर बत्ती जडान लगायतका काम गरेको युवा समाजका अर्का अगुवा लालबहादुर खड्काले बताए । उनले भने, ‘एक वर्षअघि टोलविकास समितिमार्फत १२९ जनाको हस्ताक्षरसहित सडक बत्तीको माग गरेर वडा कार्यालय गएका थियौं । यस्तो कामका लागि बजेट खर्च हुँदैन भन्ने जवाफ अयो । त्यस पछि पनि पटक पटक मौखिक रुपमा बत्ती जडानका माग गरिरहेकै थियौं । हामीलाई ३० देखि ५० हजारसम्म मात्र वडाले दिए अरु आफैं व्यवस्थापन गर्छौं भन्दा पनि सुनुवाइ भएन । त्यसैले अब सानातिना कामका लागि वडाको मुख नताक्ने भनेर हामी आफैं स्रोत जुटाएर काम गर्न थालेका हौं ।’
एक स्थानीयले भने, ‘भोट दिएर, जिताएर पठाएका जनप्रतिनिधिको आश गरेर नहुने रहेछ । गाउँकै युवाहरुले चाहेपछि केही दिनमै गाउँ झलमझ भएको छ ।’ सडकबत्ती जडान भएपछि साँझ बिहान बाटो हिँड्न डर नहुने, चोरी डकैतीको समेत डर कम भएको भन्दै स्थानीय खुसी भएका छन् । तराई क्षेत्रमा सर्पको डरले पनि राति हिँड्न समस्या हुने गरेको छ । अब राति हिँड्दा सर्पको समेत डर हटेको स्थानीय बताउँछन् ।
Facebook Comments