नेपाली कम्युनिस्ट पार्टीको ९ बुँदे एकता प्रस्ताव पारित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/img-1017.JPG

काठमाडौं । पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिस्ट घटकहरूबीच भएको एकता घोषणापछि आज (बुधबार) काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनले ९ बुँदे महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

यो प्रस्तावले नयाँ पार्टीको नाम, प्रतीक र सांगठनिक संरचना निर्माणको आधार तय गरेको छ । नेता वर्षमान पुन ’अनन्त’ले प्रस्तुत गरेको प्रस्तावलाई सम्मेलनमा सहभागी प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।

एकता प्रक्रियामा सहभागी सबै पार्टीहरू मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय भएको छ ।

नयाँ पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ । साथै एकतामा सहभागी सबै सदस्यहरू अबदेखि औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन् ।

यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका चुनाव चिह्नबाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरू अबदेखि नयाँ पार्टीका जनप्रतिनिधि मानिनेछन् ।

एकतामा सहभागी सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गरिनेछ ।

पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई दिने प्रस्ताव पारित भएको छ ।

सम्मेलनले नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र विधान लाई आवश्यक सुझावसहित छलफल गरी पारित गरेको छ ।

साथै, सबै घटकहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दातलगायतका दायित्व र स्वामित्व अबदेखि नयाँ पार्टीमा हस्तान्तरण हुनेछ ।


Facebook Comments