मेक्सिकोकी राष्ट्रपति क्लाउडियामाथि याै*न दुर्व्यवहार, काँधमा छोएर चुम्बन

सुरक्षाकर्मी अनुपस्थित हुँदा राष्ट्रपतिमाथि दुर्व्यवहार

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/president.png

एजेन्सी । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम हालै राजधानीको डाउनटाउन क्षेत्रमा नागरिकहरूसँग कुराकानी गरिरहेका बेला एक व्यक्तिबाट सार्वजनिक रूपमै यौन दुव्र्यवहारमा परेकी छन् । मङ्गलबार भएको यस घटनाको भिडिओ सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको छ ।

एसोशियटेड प्रेस (एपी) का अनुसार, राष्ट्रपति शेइनबाउमसँग कुरा गरिरहेको बेला ती मदिरामा लठ्ठ पुरुष अचानक नजिक गएर उनको काँधमा हात राख्दै घाँटीमा चुम्बन गरेका थिए ।

राष्ट्रपति शेइनबाउमले तुरुन्तै फर्केर ती पुरुषको हात हटाएकी थिइन् र स्थिति नियन्त्रणमा लिँदै शान्तपूर्वक हाँसेरै उनको सामना गरेकी थिइन् । त्यसपछि सरकारी अधिकारीहरूले उनलाई त्यहाँबाट हटाएका थिए, तर ती व्यक्तिले फेरि पनि राष्ट्रपतिको नजिक जाने प्रयास गरेका थिए ।

एपीका अनुसार घटना हुँदा राष्ट्रपतिको सुरक्षाकर्मी तत्काल उपस्थित थिएनन्, जसले गर्दा राष्ट्रपतिको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । हालै मिचोआकानका मेयरको हत्या भएको अवस्थामा यो सुरक्षा लापरवाहीलाई चिन्ताको विषय मानिएको छ ।

घटनापछि पत्रकार सम्मेलनमा राष्ट्रपति शेइनबाउमले ती व्यक्तिविरुद्ध जाहेरी दिने घोषणा गरेकी छन् । उनले भनिन्, ‘यो घटना मैले एक महिलाको रूपमा भोगेकी हुँ, तर यो कुरा हाम्रो देशकी सबै महिलाले भोगिरहेका छन्। यदि म आफैले उजुरी नगर्ने हो भने अरू महिलाको न्यायको अवस्थाबारे के सन्देश जान्छ?’

मेक्सिकन सञ्चारमाध्यम र महिला अधिकारकर्मीहरूले यस घटनालाई पितृसत्तात्मक सोचको उपज भनेका छन् । पत्रकार क्याटालिना रुइज–नाभारोले जब राष्ट्रपतिलाई पनि कुनै पुरुषले छुन सक्ने अधिकार आफूसँग छ भन्ने ठान्छ, यही हो पितृसत्तात्मक सोच भन्दै टिप्पणी गरेकी छन् ।

सुरक्षामा प्रश्न उठे पनि राष्ट्रपति शेइनबाउमले जनतासँग नजिक रहने आफ्नो पुरानो नीति परिवर्तन नगर्ने बताएकी छन् ।


Facebook Comments