एमाले महाधिवेशन प्रतिनिधि चयनको तयारी तीव्र

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/uml_1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनको तयारीलाई तीव्रता दिएको छ । महाधिवेशन प्रतिनिधि चयनका लागि देशभर आगामी मङ्सिर १३ गते एकसाथ निर्वाचन हुने भएको छ ।

एमाले सचिवालयको कात्तिक १५ गतेको बैठकले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कुल दुई हजार १२७ प्रतिनिधि कायम गर्ने निर्णय गरेको थियो ।

सबैभन्दा बढी एक हजार १३५ प्रतिनिधि निर्वाचित हुनेछन् । प्रत्येक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर कम्तीमा एक युवा र एक महिलासहित चार प्रतिनिधि निर्वाचित हुनेछन् ।

केन्द्रीय कमिटी, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट गरी ४६४ प्रतिनिधि सहभागी हुनेछन् ।

दलित आरक्षणबाट ८१, श्रमिकबाट ४०, र प्रवास कमिटीबाट ३५ प्रतिनिधि हुनेछन् । जनसङ्गठन र केन्द्रीय विभागबाट १६९ प्रतिनिधि रहनेछन् भने पार्टी केन्द्रले १०१ प्रतिनिधि मनोनित गर्नेछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, पार्टी सदस्यताको सङ्ख्या अनुपातमा क्षेत्रगत मापदण्ड बनाएर अन्तरपार्टी निर्देशन जारी भइसकेको छ र मातहतका कमिटीले कार्यान्वयन सुरु गरिसकेका छन् ।


Facebook Comments