रवि र छविकाे मुद्दामा जिल्लाको फाइल झिकाउन उच्चकाे आदेश
रिहा गर्न अस्वीकार
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
रुपन्देही । बुटवलको सुप्रिम सहकारी संस्था ठगी र संगठित अपराध अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा फाइल झिकाउने आदेश भएको छ ।
तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेशसहितका सबै फाइलहरू मगाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् ।
लामिछानेले आफ्नो भागको बिगो रकम (सामूहिक बिगो रु १० करोड ९९ लाख ३६ हजारको एक चौथाइ अर्थात् रु २ करोड ७४ लाख ८४ हजारको बैंक जमानत) दाखिला गरेर थुनाबाहिरै बसी मुद्दा लड्न पाऊँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । जोशीले पनि सोहीबराबरको जमानत पेस गरेका थिए ।
जिल्ला अदालत रुपन्देहीले ’बिगो रकमको यकिन नभएको’ भन्दै साउन २६ गते दुवै प्रतिवादीलाई रिहा गर्न अस्वीकार गरेको थियो । सोही आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
यसअघि उच्च अदालतले ’एकै प्रकृतिको मुद्दा’ भन्दै लामिछाने र जोशीको मुद्दालाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
लामिछानेलाई हाल ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै छन् । जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भए पनि यी दुई मुद्दाका फाइलहरू भने सुरक्षित रहेका थिए ।
Facebook Comments