समाजमा घृणा फैलाएर मान्छेलाई राक्षस बनाइयो : अध्यक्ष ओली
अपशब्द बोल्ने प्रवृत्ति बढेकोमा चिन्ता
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै भएको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र विध्वंशको मुख्य कारण समाजमा फैलाइएको घृणा भएको दाबी गरेका छन् ।
भक्तपुरको गुन्डुस्थित निवासमा पार्टीका नेता–कार्यकर्तासँगको भेटमा बोल्दै ओलीले सामान्य मान्छेले आगो लगाउन नसक्ने भन्दै ‘मान्छेलाई राक्षसमा परिणत गरेपछि मात्र आगो लगाउन सकिन्छ’ भन्ने टिप्पणी गरे ।
उनले २४ भदौको आगजनीलाई घृणाको पराकाष्टा भएको बताए । लामो समयदेखि अपशब्द बोलेर र लेखेर घृणा फैलाउनेहरूको कारण समाज भताभुंग भएको उनको तर्क छ ।
ओलीले घृणा फैलाउने काममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि भूमिका रहेकोतर्फ स्पष्ट सङ्केत गरे । बालेनको नाम नलिई उनले भने, ‘स्टाटस लेख्दा नेपालीले बोल्ने भाषा लेख्छ? त्यो असभ्यता हाम्रो संस्कृतिभित्र पर्दैन ।’
असहमति राख्दा पनि सम्मानजनक र सभ्य ढंगले राख्ने नेपाली परम्परा रहेकोमा अहिले अपशब्द बोल्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
मेयर बालेनले केही दिनअघि मध्यरातमा आपत्तिजनक शब्दसहितको स्टाटस लेखेका थिए, जुन आलोचनापछि आधा घण्टामै हटाएका थिए ।
Facebook Comments