इटहरीमा वडाका काम मर्ज गरेर सञ्चालन, ८ नम्बर वडा कार्यालय वडाध्यक्षकै घरमा
आगजनी र तोडफोडबाट इटहरी उपमहानगरमा साढे २५ करोडको क्षति
अम्बिका खड्का
|
२ घण्टा अगाडि
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको सुनसरीको इटहरी उपमहानगरपालिकाले अहिले अतिआवश्यक सेवा मात्र दिइरहेको छ । आन्दोलनका क्रममा उपमहानगरको ५ वटा भवन जलेर नष्ट भएपछि अहिले निर्माणाधीन अवस्थामा रहेको एउटा नयाँ भवन र आगोलागीबाट बचेको एउटा पुरानो भवनबाट उपमहानगरले सेवा प्रवाह गरिरहेको हो ।
काम सुरु गरेपनि जनप्रतिनिधि र कर्मचारीका लागि राम्रो बस्ने ठाउँ र काम गर्न आवश्यक सामाग्री समेत नहुँदा अतिआवश्यक बाहेक अन्य सेवा दिन सक्ने अवस्था भने नरहेको उपमेयर संगीताकुमारी चौधरीले बताइन् । कहिले आफ्नै घरबाट त कहिले नगरपालिकाको प्राङ्गणमै उभिएर भएपनि अतिआवश्यक सेवा दिँदै आएको तर पूर्ण रुपमा काम गर्न सक्ने अवस्था अझै नरहेको उनको भनाइ छ ।
उपमेयर चौधरी भन्छिन्, ‘हामी शून्यमा छौं । न भवन छ, न त सावरी साधन । हामीसँग काम गर्न कम्प्युटरदेखि कागजपत्र समेत छैनन् । यस्तो अवस्थामा अतिआवश्यक सेवा बाहेक अरु काम गर्न सकेका छैनौं ।’
इटहरी उपमहानगरले जेनजी आन्दोलनपछिको पहिलो कार्यपालिका बैठक भुइँमै बसेर सम्पन्न गरेको थियो । त्यसपछिका कार्यपालिका बैठक भने आगोलागीबाट बचेका २०–२५ वटा कुर्सी राखेर नयाँ भवनमा बस्ने गरेको छ । तर नगरपालिकाका सबै शाखाहरुका लागि पर्याप्त स्थान नहुँदा अहिले ४–५ वटा शाखा एकै ठाउँ राखेर सिमित कम्प्युटरबाट काम चलाइरहेको उपमेयर चौधरी बताउँछिन् ।
‘जनप्रतिनिधिहरुले त सक्ने काम आफ्नो घरबाट पनि गरिरहेका छौं । नजिक पर्ने सेवाग्राहीहरु घरमै पनि आउनु हुन्छ । हामी बाटोमा, रुखको फेदमा, प्राङ्गणमै बसेर पनि सेवाग्राहीका काम गरिरहेका छौं’, उनी भन्छिन्, ‘तर सबै काम यसरी गर्न सम्भव हुँदैन । कर्मचारीका लागि बस्ने कुर्सी र टेबल पनि पर्याप्त जोड्न सकेका छैनौं । त्यसैले अहिले अतिआवश्यक सेवा बाहेक अरु काम प्रभावित नै छ ।’
आफूहरुले चाहेर पनि पूर्ण रुपमा सेवा सुचारु गर्न नसकेको उपमेयर चौधरीको भनाइ छ । केही मानिसहरुको अराजक प्रवृतिले अहिले उपमहानगरका २ लाख नागरिकहरुले समस्या भोग्नु परेको उनी बताउँछिन् । ‘उहाँ(जेन–जी)हरुको माग हामीसँग राख्नु भएको भए सकेजति पूरा गर्ने थियौं’, उपमेयर चौधरी भन्छिन्, ‘आफैंले तिरेको करबाट जोडेको सम्पत्तिमा हानी गर्नुभएको छ । अहिले उहाँहरुलाई नै समस्या भइरहेको छ । हामीले चाहेर पनि पूर्ण रुपमा सेवा दिन सकेका छैनौं । नगरपालिकाले पुरानै अवस्थामा फर्किएर पूर्ण रुपमा सेवा दिन अझै समय लाग्छ ।’
उपमहानगरमा साढे २५ करोडको क्षति
प्रारम्भिक रुपमा संकलन गरिएको विवरण अनुसार सुनसरी जिल्लाका ३३ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड हुँदा एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको छ । सुनसरीका क्षतिग्रस्त ३३ सरकारी कार्यालयमध्ये सबैभन्दा बढी क्षति भएको इटहरी उपमहानगर हो । प्रारम्भिक विवरण अनुसार उपमहानगरमा मात्र साढे २५ करोड बराबरको क्षति भएको छ ।
आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट उपमहानगरको ५ वटा भवनसहित वडा कार्यालयका भवन समेत क्षतिग्रस्त बनेका छन् । त्यसैगरी उपमहानगरका ५ वटा ट्याक्टर, २ वटा स्कार्पियो, एउटा रोड रोलर र एउटा पानी ट्याङ्कीको गाडी आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ । उपमहानगरको निर्माणाधीन अवस्थामा रहेको नयाँ भवनमा समेत तोडफोड र लुटपाट भएको थियो । अहिले तोडफोड मात्र भएको त्यही नयाँ भवन र आगोलागीबाट बचेको एउटा पुरानो भवनलाई मर्मत र सरसफाइ गरेर उपमहानगरले सेवा सुरु गरेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलसहित केही वडाध्यक्षहरुको निजी घरमा समेत आगजनी र तोडफोड भएको छ ।
८ नम्बर वडा कार्यालय वडाध्यक्षको घरबाट सञ्चालन
इटहरी उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालय पनि जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । ८६ लाख लागतमा टेन्डर खुलाएर निर्माण भएको भवन आगजनीपछि ‘रेड जोन’ मा राखिएको छ । भवन, सवारी साधन र कार्यालयका उपकरणलगायत सम्पूर्ण सामाग्रीहरुमा भएको क्षति हेर्दा डेढ करोड भन्दा बढीको क्षति भएको वडाध्यक्ष रोहितकुमार चौधरी बताउँछन् ।
अहिले वडा कार्यालयको काम वडा कार्यालय नजिकै रहेको वडाध्यक्षकै घरबाट सञ्चालन भइरहेको छ । आन्दोलनका कारण तोडफोड र आगजनीबाट इटहरी उपमहानगरका धेरै जसो वडा कार्यालय कुनै न कुनै रुपमा प्रभावित भएका छन् । आन्दोलनपछि सेवा सुचारु गर्नका लागि उपमहानगरको बैठक बस्दा पूर्ण रुपमा क्षतिग्रस्त वडाका काम अन्य वडाहरुमा मर्ज गरेर सुचारु गर्ने निर्णय भएको थियो । वडा नम्बर ८ का वडाध्यक्षले भने आफ्नो एउटा घर खाली रहेको र वडाबासीलाई समेत पायक पर्ने भएकाले सोही घरबाट सेवा सूचारु गर्ने निर्णय गरेर काम सुरु गरेको बताए ।
‘आन्दोलनपछि अब कसरी काम गर्ने भनेर बैठक सबेका थियौं । त्यहाँ वडाहरु मर्ज गरेर काम गर्ने निर्णय भयो’, अध्यक्ष चौधरीले भने, ‘८ नम्बर वडा ६ नम्बरबाट सञ्चालन गर्ने निर्णय भएको थियो । ८ नम्बर वडाबासीलाई ६ नम्बरमा पुगेर सेवा लिन धेरै नै असहज हुने थियो । त्यसैले मैले आफ्नै घरबाट काम गर्ने निर्णय गरेँ र सोही अनुसार काम सुरु गर्यौं ।’
तीन वटा कोठा भएको वडाध्यक्षको घरलाई अहिले एउटै कोठा बनाएर कर्मचारी र जनप्रतिनिधिहरु सबैजना एकै ठाउँ बसेर सेवा दिइरहेको इटहरी उपमहानगर–८ की वडा सदस्य दीपा राईले बताइन् । उनले भनिन्, ‘अहिले हामीसँग २ वटा मात्र कम्प्युटर छ । बस्ने ठाउँ पनि पर्याप्त छैन । काम गर्न सहज छैन तर पनि नागरिकको सेवा रोक्नु हुँदैन भनेर अतिआवश्यक सेवा दिइरहेका छौं।’
‘हामीसँग काम गर्न कागज पनि थिएन् । वडाध्यक्षले ३ वटा कम्प्युटरको व्यवस्था मिलाउनुभयो । अन्य वडा कार्यालयहरुबाट फाइल, कागज र प्रिन्टर ल्याएर काम थालेका हौं’, आन्दोलनपछिको अवस्था सम्झँदै वडा सदस्य राई अगाडि भन्छिन्, ‘सुरुमा त सेवाग्राहीहरु आउनुहुन्थ्यो । कागज नभएका कारण प्रिन्ट गर्न अर्को वडा कार्यालय पठाउनुपर्थ्यो । उताबाट प्रिन्ट गरेर आएको डकुमेन्टमा बल्ल हामीले छाप लगाएर, हस्ताक्षर गरेर पठाउँथ्यौं । हामीलाई पनि गाह्रो, सेवाग्राहीलाई पनि समस्या थियो ।’
जेनजी आन्दोलनमा वडाध्यक्ष चौधरीको आफू बसिरहेको घर समेत तोडफोड, आगजनी र लुटपाट हुँदा २५ लाख बराबरको क्षति भएको बताए । क्षतिग्रस्त घर मर्मत गरे घटनाको करिब २० दिनपछि मात्र घरमा बस्न सक्ने भएको उनको भनाइ छ ।
आफ्नो घरमा क्षति भएपनि वडाबासीलाई सेवा दिन समस्या नहोस् भनेर आफूले खाली रहेको आफ्नो अर्को सानो घरबाट वडाको काम सुरु गरेको वडाध्यक्ष चौधरी बताउँछन् ।
मर्ज गरेर वडा कार्यालयहरु सञ्चालन
आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण इटहरीका अधिकांश वडा कार्यालयहरु कुनै न कुनै रुपमा प्रभावित भए । कतिपय वडा कार्यालयहरु पूर्ण रुपमा क्षतिग्रस्त हुँदा काम सुरू गर्न सक्ने अवस्था नै थिएन् । इटहरी उपमहानगरपालिकाको असोज ७ गते बसेको नगर कार्यपालिकाको बैठकले क्षतिग्रस्त वडा कार्यालयहरुलाई कम क्षति भएका वडा कार्यालयहरुसँग मर्ज गरेर सेवा दिन निर्देशन दिएको थियो । उपमहानगरले निर्देशन दिएबमोजिम नै वडा कार्यालयहरु एकआपसमा मर्र्ज गरेर सञ्चालन भइरहेका छन् ।
पूर्ण रुपमा क्षतिग्रस्त बनेका वडा कार्यालयबाहेकका वडाहरुले आफ्नै भवन सरसफाई र मर्मत गरेर सेवा प्रवाह गरिरहेका छन् । १, २, ३, ४, ५, ६, ७, १०, १२, १३, १५, १६, १९ र २० नम्बर वडाहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।
वडा नम्बर ९ को सेवा भने वडा नम्बर ६ बाट सञ्चालन भइरहेको छ । त्यसैगरी वडा नम्बर ११ को काम वडा नम्बर १२ बाट सञ्चालन भइरहेको छ । १४ नम्बर वडाको काम ७ नम्बरबाट र १७ नम्बर वडाको काम ७ नम्बर वडाबाट भइरहेको छ । त्यसैगरी १८ नम्बर वडाको काम भने १ नम्बर वडाबाट भइरहेको इटहरी उपमहानगरले जनाएको छ ।
Facebook Comments