‘विकासको नाममा प्रकृतिलाई नष्ट गर्दैमा समृद्धि आउँदैन’
प्रेमचन्द्र झा
|
३ घण्टा अगाडि
हिमाल पग्लिँदै छ, नदी सुकिरहेका छन्, तर हाम्रो ध्यान राजनीति र विवादमा छ । विकासको नाममा प्रकृतिलाई नष्ट गर्दैमा समृद्धि आउँदैन । हामीले पर्यावरण केवल स्रोत होइन, अस्तित्व भनेर पनि बुझ्नुपर्छ । त्यसका लागि हरित ऊर्जा र दिगो पर्यटन प्रवर्द्धक गर्नुपर्छ । वन, जल र माटोको संरक्षणमा सामुदायिक सहभागिता बढाउनुपर्छ । प्लास्टिक र प्रदूषणविरुद्ध कडा नीति लागू गर्नुपर्छ । शिक्षा प्रणालीमा पनि पर्यावरणीय नागरिकताको अवधारणा ल्याउनुपर्छ ।
आजको समाजमा सफलता मापनको मापदण्ड गलत छ । धन, पद र पहुँच नै सम्मानको आधार बनेको छ । तर नैतिकता हराएको समाज टिक्दैन । हामीले पुनः सत्य, इमानदारी र जिम्मेवारीलाई मूल मूल्य बनाउनुपर्छ । धार्मिक होस् वा निरपेक्ष, नैतिक शिक्षा अनिवार्य हुनुपर्छ । कुनै पनि परिवर्तन नैतिक पुनर्जागरण बिना सम्भव छैन ।
हामी गुनासो गर्छौँ, समाधान खोज्दैनौँ । योजना बनाउँछौँ, तर कार्यान्वयन नगरी बजेट सकाउँछौँ । आलोचना गर्छौँ, तर योगदान दिँदैनौँ । हामीले हरेक असन्तोषलाई अवसरमा बदल्न सिक्नुपर्छ । देशप्रेम भावनाले होइन, व्यवहारिक सुधारले नापिनुपर्छ ।
अब प्रश्न उठ्छ– कसरी हामीले हठ त्याग्नुपर्छ, समयको मूल्य बुझ्नुपर्छ, एक हुनुपर्छ, जिम्मेवारी बोक्नुपर्छ, गल्ती स्विकार्नुपर्छ, सुधारमा जुट्नुपर्छ । देशको माया भाषणले होइन, व्यवहारले देखाउनुपर्छ । हामीले हरेक दिन आफैँलाई सोध्न जरुरी छ– यदि म देश हुँ भने, म अहिले के गर्दै छु? त्यो प्रश्नको इमानदार उत्तर नै नयाँ नेपालको सुरुवात हुनेछ ।
तर सुधारको बाटो केवल आलोचनाले मात्रै खुल्दैन । त्यसका लागि हामीले अभ्यासमा उतार्नुपर्ने केही ठोस कामहरू छन् । पहिलो— इमानदारीको पुनर्जागरण । सानो काममा पनि इमानले काम गर्ने बानी बसालौँ । दोस्रो— सहयोगको संस्कार । प्रतिस्पर्धा आवश्यक छ, तर सहकार्य बिना विकास सम्भव छैन । तेस्रो— सकारात्मकता । हरेक असफलतालाई अवसरको रूपमा लिन सक्ने सोच जगाऔँ । चौथो— श्रमको सम्मान । काम सानो–ठूलो हुँदैन, सम्मान कामले होइन, निष्ठाले कमाइन्छ । पाँचौँ— साझा स्वामित्वको चेतना । देश केवल नेताको होइन, हरेक नागरिकको हो भन्ने भावनाले हाम्रो सोचलाई दिशा दिनुपर्छ ।
विदेशमा रहेका नेपालीहरू पनि देशको पुनर्निर्माणमा ठूलो शक्ति हुन् । उनीहरूले संसारका आधुनिक प्रविधि, व्यवस्थापन र श्रम संस्कार सिकेका छन् । राज्यले तिनको सीप र लगानीलाई देश विकासमा जोड्ने दीर्घकालीन नीति बनाउनुपर्छ । प्रवासी नेपाली केवल वैदेशिक मुद्रा पठाउने स्रोत होइनन्, उनीहरू देशको अनुभव, सञ्जाल र सम्भावनाका दूत हुन् । उनीहरूको योगदानलाई सच्चा राष्ट्रिय रणनीतिमा रूपान्तरण गर्न सके नेपाल आत्मनिर्भर अर्थतन्त्रतिर अगाडि बढ्न सक्छ ।
हाम्रो अर्को सुधारको दिशा मानसिकता परिवर्तन हो । हामी अझै नकारात्मकतामा रमाउँछौँ । यो देशबाट केही हुँदैन भन्ने वाक्य हामी सबैले कहिल्यै न कहिल्यै दोहोर्याएका छौँ । तर देश परिवर्तन गर्न पहिले त्यो मानसिकता तोड्नुपर्छ । हरेक नागरिकले सानो जिम्मेवारी पूरा गर्दा ठूलो परिवर्तन सम्भव हुन्छ । सडकमा फोहर नफाल्ने, कर समयमा तिर्ने, सार्वजनिक सम्पत्तिलाई आफ्नो ठानेर हेरचाह गर्ने—यी नै राष्ट्रिय चरित्रका साँचो प्रमाण हुन् ।
हामीले नेपालको शक्ति बुझ्नुपर्छ । यो देशले विश्वभर श्रम, इमान र सहनशीलताको पहिचान कमाएको छ । नेपालीहरू जहाँ पुगे पनि आफ्नो मेहनत र विश्वसनीयताले सम्मान कमाउँछन् । त्यही मूल्य देशभित्र किन हरायो? कारण स्पष्ट छ— देशभित्र हामी प्रतिस्पर्धा र दलगत सोचमा बाँडियौँ । यदि हामीले त्यही विश्वसनीयता, त्यही इमानदारी, त्यही परिश्रम स्वदेशमै प्रयोग गर्यौँ भने नेपाल संसारका आत्मनिर्भर राष्ट्रमध्ये एक बन्न सक्छ ।
हामीले युवालाई निराश होइन, प्रेरित गर्नुपर्छ । आजको युवा यदि निराश भयो भने भोलिको देश दिशाहीन हुन्छ । हरेक विद्यालय, विश्वविद्यालय र संस्थाले युवामा नेतृत्व, इमान र देश प्रेमको भावना जगाउनुपर्छ । उनीहरूलाई केवल रोजगारी होइन, जिम्मेवारीको मौका दिनुपर्छ । युवाको हातमा शक्ति छ, तर त्यो शक्ति प्रयोगको दिशा दिनु हाम्रो जिम्मेवारी हो ।
हामीले हरेक तहमा पारदर्शिता र जबाफदेहिता ल्याउनुपर्छ । स्थानीय सरकारदेखि केन्द्रसम्म, सार्वजनिक नीति बनाउनेदेखि कार्यान्वयन गर्नेहरूसम्म सबैको काम जनताको अगाडि स्पष्ट हुनुपर्छ । जब नीति र कार्यान्वयनबीच पारदर्शिता आउँछ, तब जनताको विश्वास पुनः स्थापन हुन्छ ।
अन्ततः हामीले देश प्रेमलाई व्यवहारमा रूपान्तरण गर्न सिक्नुपर्छ । देशप्रेम भनेको केवल गान, झन्डा र नारामा सीमित हुन सक्दैन । देशप्रेम भनेको इमानदार कर तिर्नु हो, आफ्नो काममा निष्ठा राख्नु हो, जनताको हितका लागि आवाज उठाउनु हो र देशको कानुन पालना गर्नु हो । यही नै साँचो राष्ट्रप्रेम हो ।
देशको निर्माण राजनीतिक घोषणाले होइन, नागरिकको चरित्रले हुन्छ । हामीले यदि हाम्रो सोच, व्यवहार र कर्म सुधार्यौं भने देश आफैँmले अघि बढ्छ । प्रत्येक नेपालीले आफ्नो ठाउँबाट योगदान दिने हो भने, कोही शिक्षामा, कोही स्वास्थ्यमा, कोही कृषि वा प्रविधिमा—नेपाललाई नयाँ ऊँचाइमा पुर्याउन सकिन्छ ।
देश हाम्रो सपना होइन, हाम्रो कर्मको प्रतिबिम्ब हो । हामी सबैले सानो–सानो परिवर्तन गर्न सके, ठूलो रूपान्तरण सम्भव छ । एक नागरिकको विवेक, एक शिक्षकको निष्ठा, एक युवाको प्रयास र एक नेताको इमान नै नयाँ नेपालको इँटा हुन् । हामीले आज बाटो नफेरेनौं भने इतिहासले क्षमा गर्ने छैन । तर हामीले आजै आत्मजागरणको शपथ लिएर अघि बढ्यौँ भने, भोलिको नेपाल केवल समृद्ध होइन, सजग र न्यायपूर्ण पनि हुने छ ।
Facebook Comments