समान विचारका परिवर्तनकारी शक्तिसँग ध्रुवीकरण गर्ने रास्वपाकाे निर्णय

घोषित मितिमा निर्वाचन गर्न जोड

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rsp-party-bistarir-baithak.jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने विस्तारित बैठक सौराहामा शनिबार राति सम्पन्न भएको छ ।

बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलाई देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने मुख्य माध्यमको रूपमा स्वीकार गर्दै निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टीले घोषित निर्वाचन परिणामलाई देश र जनताको हितमा पार्न सम्पूर्ण शक्ति र पार्टी पङ्क्तिलाई प्रभावकारी जनमत निर्माणमा लाग्न आग्रह गरेको छ ।

जेन–जी प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा राज्यका निकायमा जेन–जी आन्दोलनको भावना अनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ ।

देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको ठहर गर्दै समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह गरिएको छ ।

पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई व्यवस्थित गर्ने तथा पार्टी रूपान्तरणको आवाजलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने निर्णय भएको छ ।

घोषित निर्वाचनका कारण पूर्वघोषित मितिमा (फागुन ७–९) महाधिवेशन गर्न नसकिने भएपछि ६ महिनाभित्र नयाँ तालिका ल्याउन केन्द्रीय समितिलाई निर्देशन दिइएको छ ।

बैठकमा देशभरका ५१२ प्रतिनिधि सहभागी थिए । कार्यवाहक सभापति डिपी अर्याल लगायत उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदनहरू पेश गरेका थिए, जसमाथि समूहगत छलफल भएको थियो ।


Facebook Comments