सडक सञ्जालले घटायो कामको बोझ, महिनौँको काम एक दिनमै
महिलाले भारी बोक्ने दिनकाे अन्त्य
डीबी विष्ट
|
१९ घण्टा अगाडि
बझाङ । जयपृथ्वी नगरपालिका–८ की रञ्जना जोशी ४ वर्षअघि डोको र नाम्लोको सहायताले पिठ्युँमा बोकेर खेतबारीसम्म मल लैजान्थिन् । गोठेमल खेतबारीमा राख्नका लागि आफू र आफ्नो छिमेकीलाई सँगै लिएर करिब २०–२५ दिन लगाएर खेतबारीमा गोठेमल राख्ने गर्थिन् । तर अहिले भने उनले आफ्नो पिठ्युँमा मलको भारी बोक्नु पर्ने अवस्था हटेको छ । गाउँमा सडक सञ्जाल पुगेपछि उनले पिठ्युँमा भारी नबोकेको झन्डै ३–४ वर्षभन्दा बढी भयो ।
अहिले जोशीको घर नजिकैबाट सवारी साधन ओहोरदोहोर गर्न थालेपछि खेतबारीसम्म गोठेमल लैजानका लागि तिनै सवारी साधनहरूको प्रयोग गर्दै आएकी छिन् । करिब एक महिना दिन लगाएर बोक्नुपर्ने गोठेमल अहिले खेतबारीसम्म एक दिनमा नै पुर्याउन सकिने उनले बताइन् ।
‘चार वर्ष पहिला घरमा भएको गोठेमल खेतबारीसम्म डोको नाम्लोको सहायताले आफूले नै बोकेर लैजानुपर्ने बाध्यता थियो । घरबाट खेतबारीसम्म मलको भारी बोकेर करिब ४५ मिनेटभन्दा बढी समय लाग्थ्यो’, जोशी भन्छिन्, ‘तर अहिले भने ५–६ घण्टामा नै ट्र्याक्टरको सहायताले खेतबारीसम्म मल पुग्छ ।’
टाउकोको छाला जाउन्जेल पनि गोठेमल बोक्नुपर्ने बाध्यता अहिले हटेकोमा खुसी व्यक्त गर्दै जोशीले आफूहरूको पालामा नै यति राम्रो सुविधा होला भन्ने कुराको कल्पना पनि नगरेको बताइन् ।
त्यस्तै, वडा नम्बर ८ का स्थानीय राधाकृष्ण जोशी एक पटक ट्र्याक्टरमा मल ढुवानी गरेबापत दुई हजार भाडा तिर्नुपरेको पीडा सुनाउँछन् । तर, अहिले एक महिना लाग्ने काम पनि दुई दिनमै सकिने गरेको उनको भनाइ छ । ‘जोशीगाउँबाट खेतबारी भएको ठाउँ देवल जिउलोसम्म पुग्नका लागि भारीसहित न्यूनतम ४५ मिनेट लाग्थ्यो’, राधाकृष्णले भने, ‘अहिले गाउँको बाटो भएर सवारी साधन सुचारु भएपछि खेतबारीसम्म गोठेमल ढुवानी गर्न सहज भएको छ ।’ उनले खेतबारीसम्म गोठेमल लैजानका लागि मात्रै नभएर खेतबारीमा उब्जनी भएको अन्नबाली भित्र्याउन पनि सजिलो भएको बताए ।
गोठेमल खेतबारीसम्म लैजानका लागि गरेको दुःख रञ्जनाले जस्तै सोही ठाउँकी हिमा जोशीको पनि उस्तै छ । पहिले–पहिले भेडा–खच्चड सरह आफूले मल बोक्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । ‘अन्नबाली राम्रो उत्पादन गर्नका लागि गोठेमल नहालेर साध्य नै हुँदैन । गाउँका छिमेकीहरूको आलोपालो लगाएर गोठेमल बोक्नुपर्थ्यो । कहिलेकाहीँ त छिमेकीहरू नपाएपछि आफू एक्लैले २०–३० दिन लगाएर भए पनि गोठमा भएको गोठेमललाई खेतबारीसम्म बोकेरै लिनुपर्ने हुन्थ्यो’, उनले भनिन्, ‘तर, अहिले छिमेकी नभए पनि आफ्नै परिवारका सदस्यहरू मिलेर एकै दिनमा ट्र्याक्टरमार्फत गोठेमल खेतबारीसम्म पुगाउँछौँ ।’
उनले अगाडि थपिन्, ‘अहिले त्यति धेरै दुःख छैन । सानो दुःख भनेको ट्र्याक्टरमा लोड गर्न मात्रै छ । गोठेमल बोक्नका लागि सबै गाउँ ठाउँमा महिलाहरूले नै बोक्ने गर्छन् । गाउँमा सवारी साधन सञ्चालन भएपछि महिलाहरूको भारी बोक्न दिन गएको छ । खेतबारीसम्म मल लैजान र बारीमा उत्पादन भएको अन्नबाली घरसम्म पुर्याउन मात्र नभइ अन्य कामका पनि सवारी साधन नै प्रयोग गर्छाैं ।’
वडा नम्बर ८ का स्थानीयलाई मात्रै नभएर जयपृथ्वी नगरपालिका १ देखि ११ सम्म र अन्य पालिकाहरूमा पनि सवारी साधन सञ्चालनमा आएपछि ठूलो सहयोग पुगेको स्थानीयको भनाइ छ । गाउँगाउँ टोल टोलमा सडकसँगै सवारी साधन सञ्चालनमा आएपछि खेतबारीमा काम गर्न मात्रै नभएर सामान्य जीविका चलाउनेहरूले पनि सहर÷बजारमा पुगेर मजदुरी काम गर्न सजिलो भएको स्थानीय नवराज जोशीको बुझाइ छ । बझाङको साईपाल गाउँपालिका बाहेकका सबै पालिकाहरूमा सवारी साधनहरू सञ्चालनमा रहेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका, बुङ्गल नगरपालिका, वित्थडचिर गाउँपालिका, केदारस्युँ गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, दुर्गाथली, थलारा, खप्तडछान्ना, सुर्मा, तलकोट र मष्टा गाउँपालिकाका स्थानीयहरूले पनि सवारी साधनहरूको प्रयोग गरेरै गोठेमललाई खेतबारीसम्म पुर्याउने गरेका छन् । सवारी साधनहरू सञ्चालनपश्चात् बारीमा उत्पादन भएको वस्तुहरूलाई बजारसम्म लिएर बिक्री गर्न पनि ठूलो सहयोग पुगेको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाले बताए ।
‘अहिले कतिपय शाखा सडकहरूको स्तरोन्नति गर्न सकिएको छैन । जसका कारण सवारी चालक तथा सवारी धनीहरूले महँगो भाडादरमा काम गर्नु परेको छ । नगरपालिकाले क्रमिक रूपमा शाखा सडकहरूको स्तर उन्नति भइरहेको छ’, मेयर बजा भन्छन्, ‘शाखा सडकहरू राम्रो बनाउन सके अझै नागरिकहरूलाई ठूलो सहयोग पुग्छ । यसका लागि हामी पनि लागिरहेका छौँ ।’
Facebook Comments